राजनीति

आगामी निर्वाचनमा आफ्नो पार्टीसँग एक्लै लड्ने आँट कसैले नगर्ने ओलीको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १२ गते १६:५८
आगामी निर्वाचनमा आफ्नो पार्टीसँग एक्लै लड्ने आँट कसैले नगर्ने ओलीको दाबी (भिडियो रिपोर्टसहित)

१२ भदौ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफनो पार्टीसँग एक्लै लड्ने आँट कसैले पनि गर्न नसक्ने दावी गर्नु भएको छ ।

अध्यक्ष ओलीले एक्लै लड्ने आँट नभएपछि सत्तारुढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको तर्क समेत गर्नु भयो । आज नेकपा एमाले महालक्ष्मी नगर कमिटीले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेसँग एक्लै चुनाव लड्न कुनै पनि राजनीतिक दलहरुले नसक्ने कुरा सबैलाई थाहा भएको दावी समेत गर्नु भयो ।

आगामी निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी गर्ने कुरा आफूले सुनेको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नु भयो, ‘म सुन्दैछु– मोर्चाबन्दी गर्छन् रे । एमालेसँग एक्लै लडन सकिन्न भन्ने कुरा सबैलाई थाहा छ । एमालेसँग एक्लै लडन कसैले पनि नचिताए हुन्छ । एमालेसँग एक्लै लड्न कोही सक्दैन–सबैलाई थाहा छ । त्यसकारण मिलाउने अरे, मिलेर लड्ने रे । एक÷एक दर्जनको १० वटा पार्टी मिल्यो भने कति हुन्छ ? १० दर्जन जति नै त भयो होला नि, होइन ? एक/एक दर्जन मान्छे भएको १० वटा पार्टी मिल्दा । १० दर्जन भनेको १ सय २० होइन् ? १२० जनाको मोर्चा कसेर एमालेसँग लड्ने ? माधव नेपालका नक्कली नाम समेत जोड्दा, दोहोरिएका समेत जोड्दा ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसद त्यति जना मिलेर एमालेसँग लड्ने ? उहाँहरु कुरामा लड्न सक्नु हुन्छ । काममा होइइन्, मैदानमा होइन्, व्यवहारमा होइन ।’

अध्यक्ष ओलीले माधव नेपाललगायतका केही मान्छे पार्टीबाट चोइटिएर गएपनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दोहो¥याउनु भयो । एक/दुई वटा पात पहेँलिएर झर्दैमा रुखले चिन्ता मानेर नबस्ने दृष्टान्त पेश गर्दै उहाँले माधव नेपालसहितका केही मान्छेले पार्टी छोडदैमा पिर नमान्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अब चिन्ता गरेर बस्ने होइन । म कमरेडहरुलाई भन्न चाहन्छु–एक दुईटा पात खस्दैमा पीर मानेर रुख ढल्दैन । एक÷दुईटा पात पहेँलिएर झर्छन् । रुखले पीर मानेर बस्छ ? अर्को टुसो हालिहाल्छ नि । देख्नु भएन् कमिटीहरुको टुँसो पलाएको ? महिलाहरु कसरी जाँग्दैछन् । युवाहरु कसरी जाँग्दैछन । त्यसकारण नयाँनयाँ पालुवाहरु पलाउँदैछन् । नयाँनयाँ हाँगाहरु हाल्दैछन् । अझै मजबुत वृक्ष हाँगा फैलिदै छन् । उचाइतिर जाँदैछ ।’

अध्यक्ष ओलीले जनादेशबाट नभई विभिन्न जालझेल गरेर आफूहरुलाई सत्ताबाट हटाएको उल्लेख गर्दै आगामी निर्वाचनमा त्यसको जवाफ दिनेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।

विचार नभएको, देशको विकास भनेको के हो ? भन्ने थाहा नै नभएकाहरु सत्तामा रहेको उल्लेख गर्दै उहाँले त्यस्ता षडयन्त्रकारीहरुलाई आफ्नो पार्टीले निर्वाचनबाटै एकमुष्ट जवाफ दिनुपर्ने बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी जनादेशबाट सरकारबाट हटाइएका होइनौं । जालझेलबाट सरकारबाट हटाइएको हो । चुनाव त आओस् नेकपा एमालेले जवाफ दिनुपर्छ यी सबै कुराहरुको । यी सबै खुद्रा षडयन्त्रको एकमुष्ट जवाफ दिनुपर्छ एमालेले । महालक्ष्मी नगरपालिकामा एउटा पनि सदस्यहरुले अरु पार्टीले चिप्ल्याएर लान नपाओस भन्ने कुरा यहाँका साथीहरुले ध्यान दिनु पर्दछ । किन दिने अर्कोलाई ? जोसँग दृष्टिकोण छैन । केही छैन । विचार नभएको । एउटा यता फर्केको, अर्को उता फर्केको चतुरमुख जस्तो चारतिर फर्केका । खान मात्रै जानेका । देश विकास के हो ? भनि थाहा नपाएको यस्ता झुण्डलाई कही पनि चुनाव जित्न दिनु हुन्न । संघीय निर्वाचनमा, प्रदेश निर्वाचनमा यिनीहरुलाई कहीँ पनि जित्न दिनु हुँदैन, एमालेले दिँदैन । प्रदेशमा को उठछ, एमाले उठछ र त्यसले शानदार ढंगले जित्छ । अरु सबैको एकातिर जोड्दा कम्मर–कम्मर मात्रै हुनुपर्दछ उनीहरुको उचाई । सबै एकातिर जोड्दा नेकपा एमाले सर्लक्कै माथि हुुनु पर्दछ ।’

अध्यक्ष ओलीले चुनावमा एमालेको प्रतिस्पर्धी हुने तर प्रतिस्पर्धा भने नहुने दावीसमेत गर्नु भयो । उहाँले पार्टीमा फुट नआएको पनि स्मरण गराउनु भयो । नुहाउँदा एक/दुई वटा केस झरेजस्तो केही मान्छेहरु आफै पतन भएर पार्टी छाडेको अध्यक्ष ओलीको तर्क थियो । उहाँले भन्नुभयो, ‘पार्टी फुटेको होइन् । केही मान्छेहरु पतित भएका हुन्, बिग्रिएका हुन् । ती बिग्रिएका मान्छेहरुले पार्टी छोडेका हुन् ।’

अध्यक्ष ओलीले माधव नेपालहरुलाई एक/दुई वटा कपालको केशको संज्ञा दिँदै उनीहरु हिँड्दै टाउँको मुडुलो नहुने बताउनु भयो । उहाँले भन्नु भयो, ‘नुहाउँदाखेरी एक, दुईटा कपालको रौं झर्छ । जति दामी साबुन लगाएपनि, राम्रो, ब्रान्डेड साबुन लगाएपनि, छानेको पानीले नुहाए पनि, जेसुकै गरेपनि एक, दुईटा कपाल झर्छ । एक, दुईटा कपाल झर्दैमा टाउँको मुडुलो हुन्छ ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्