मन्त्रिपरिषद् विस्तारले चाँडै पूर्णता पाउँछः मन्त्री कार्की
१२ भदौ २०७८ काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज बिहान सञ्चाकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार गरिने बताउनुभयो ।
सरकारका प्रवक्तासमेत रहेका कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउने कुरा भइरहेको जानकारी दिनुभयो ।
समयको महत्त्व बुझेर सरकारले जनताले अनुभूति गर्ने गरी दिगो विकासका कार्य गर्ने बताउदै मन्त्री कार्कीले राजनीतिक दलसम्बन्धी अध्यादेश आवश्यकता र बाध्यताले ल्याइएका दाबी गर्नुभयो ।
मन्त्री कार्कीले नेपाली कांग्रेसको अधिवेशन तोकिएकै समयमा गर्न यही भदौ १८ गते वडास्तरीय अधिवेशन गरिने बताउनुभयो ।
एमसीसी एक विकास परियोजना भएकाले हाम्रो मुलुकलाई जरुरी छ भन्दै मन्त्री कार्कीले यस सम्बन्धमा दलहरुबीच छलफल गरेर मात्र पारित गरिने बताउनुभयो ।
प्रतिक्रिया