Main News

काठमाडौंको सडकमा थुप्रिएको फोहोर उठेन, सरुवा रोगको जोखिम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ११ गते २०:४४
काठमाडौंको सडकमा थुप्रिएको फोहोर उठेन, सरुवा रोगको जोखिम (भिडियो रिपोर्टसहित)

११ भदौ २०७८ काठमाडौं । काठमाडौं उपत्यकाको सडकमा थुप्रिएको फोहोर कहिले उठ्ने हो अझै कुनै टुंगो छैन । एकातिर वर्षा र अर्का तिर फोहोर थुप्रिने क्रम जारी रहेकाले काठमाडौंमा सरुवा रोगको जोखिम बढेको स्वास्थ्य विज्ञले चेतावनी दिएका छन् ।

यो काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरको डङ्गुर हो । फोहोर व्यवस्थापन गर्ने निकाय काठमाडौं महानगरपालिकाले आफ्नो जिम्मेवारी बिर्सिँदा यसरी सडकमा फोहोर थुप्रिएको छ ।

यो फोहोर लगेर फाल्ने ठाउँ सिसडोल जाने सडक विग्रीएको भन्दै महानगरपालिकाले फोहोर नउठाएको हो । फोहोरको डंगुरले उपत्यका गन्हाउने भैसकेको छ । अब त फोहोर उठ्ला भन्ने आशामा रहेका नगरका बासिन्दालाई निराश बनाउँदै महानगरले सूचना निकालेर भनेको छ काठमाडौंको फोहोर अझै केही दिन उठ्दैन ।

महानगरले फोहोर अझै केही दिन नउठ्ने भनेपछि नागरिक आक्रोशित छन् र विज्ञहरु चिन्तित । अहिले झरी पनि परिरहेकाले यो फोहोरबाट सरुवा रोगको महामारी फैलिने हो किन भन्ने चिन्ता विज्ञमा छ । सरुवा रोग विज्ञका अनुसार सडकको यो फोहोरले झाडापखाला, टाइफाईड, जन्डिस, स्क्रबटाइफस लगायतका रोग फैलन सक्छ ।

त्यति मात्रै हैन । यो फोहोरका कारण हैजा जस्तो महामारी पनि फैलने सम्भावन छ । हैजा फैलियो र हैजा लागेका व्यक्तिले केही घण्टामै उपचार नपाए, मृत्यु वरण गर्नुको विकल्प हुँदैन ।

काठमाडौंमा थुप्रिएको यो फोहोर, फोहोर मात्र नभएर रोग फैलाउने माध्यम हो । त्यसैले नगरमा फोहोर बढेको बेला संक्रामक रोग फैलन नदिन व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिन विज्ञको सुझाव छ ।

अहिले नागरिक कोरोना महामारीको त्रासमा छन् । र विज्ञले भनेजस्तो फोहोरबाट सरुवा रोगको महामारी फैलियो भने नागरिकमा अर्को आपत्त थपिने छ । त्यसैले काठमाडौं महानगरले नागरिकलाई अर्को आपत्त नथप्नु तत्काल फोहोरको व्यवस्थापन गर्न आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *