Main News

अधिवेशनका लागि कांग्रेसद्वारा ३८ जिल्लाका क्रियाशील सदस्य सार्वजनिक

हिमालय टिभी
२०७८ भदौ ११ गते १५:१३
अधिवेशनका लागि कांग्रेसद्वारा ३८ जिल्लाका क्रियाशील सदस्य सार्वजनिक

११ भदौ २०७८ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ ।

यही भदौ १८ गते हुने वडा अधिवेशनसहित जिल्ला अधिवेशनसमेतको निर्वाचन गर्न समितिले ३८ जिल्लामा प्रतिनिधि खटाएको हो । प्रतिनिधिहरूलाई सम्बन्धित जिल्लाको क्रियाशील सदस्यताको सूची, निर्वाचन निर्देशिका र आवश्यक प्रशिक्षणसमेत दिइएको छ ।

निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार कांग्रेस केन्द्रीय समितिले उपलब्ध गराएको क्रियाशील सदस्यता सूचीका आधारमा ३८ जिल्लामा प्रतिनिधि खटाइएको हो ।

कांग्रेसले अधिकांश ठाउँमा कानून व्यवसायीलाई निर्वाचन अधिकृत बनाएको छ भने केही ठाउँमा प्राध्यापक र नेपाल शिक्षक संघका प्रतिनिधिलाई पनि जिम्मेवारी दिइएको छ । ३८ जिल्लाको क्रियाशील सदस्यको सूची पनि सार्वजनिक गरिएको छ। पार्टीको वेबसाइटमा गएर नामावली हेर्न सकिने छ ।

बाँकी ३९ जिल्लाको क्रियाशील सूची पनि छिट्टै सार्वजनिक गरिने बताइएको छ । कांग्रेसले प्रदेश १ का ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर र झापाको क्रियाशील सूची प्रकाशित गरेको छ।

यस्तै बागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर जिल्लाको क्रियाशील विवरण वेबसाइटमा राखिएको छ। यस्तै गण्डकी प्रदेशका गोरखा, लम्जुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी र पुर्बी नवलपरासीका सदस्य पनि सार्वजनिक गरिएको छ ।

लुम्बिनीमा रूपन्देही, पाल्पा र रोल्पाको विवरण सार्वजनिक गरिएको छ भने कर्णालीमा हुम्लाको मात्रै विवरण वेबसाइटमा राखिएको छ। प्रदेश २ र ७ मा भने कुनै पनि जिल्लाको विवरण सार्वजनिक गरिएको छैन्।

कांग्रेसले १४ औं महाधिवेशनका लागि यसपटक ९ लाखभन्दा बढी क्रियाशील सदस्य बनाएको छ । जसमध्ये करिब ५० हजार विदेशस्थित जनसम्पर्क समितिका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *