Main News

चार प्रदेशमा मेघ गर्जनसहित भारी वर्षा, पहिरोका कारण विभिन्न सडक अवरुद्ध

हिमालय टिभी
२०७८ भदौ ११ गते ९:००
चार प्रदेशमा मेघ गर्जनसहित भारी वर्षा, पहिरोका कारण विभिन्न सडक अवरुद्ध

११ भदौ २०७८ काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ ।

अहिले बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा सामान्य बदली रहेको छ । अहिले प्रदेश १, बाग्मती, गण्डकी तथा कर्णाली प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशहरूका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि प्रदेश १, गण्डकी, लुम्बिनी,कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी साथै धेरै भारी हुने सम्भावना छ ।बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस पटक धेरै भारी वर्ष भइरहेको हुनाले बाढी र पहिरोको जोखिम बढेको छ । लगातार वर्षाका कारण तराईका जिल्लाहरुमा डुबानको समस्या देखिएको छ ।

यसैबिच पहिरोले थुनेको म्याग्दीको रघुगङ्गा नदी ओभरफ्लो भएर बग्न थालेको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले पहिरोका कारण नदि थुनिएर करिव १ किलोमिटर क्षेत्रमा ताल बनेको भएपनि अहिले ओभरफ्लो भएर बग्न थालेको जानकारी दिनुभयो ।

नदी बग्न थालेपनि जोखिम भने कायमै रहेकाले कालीगण्डकी नदी किनारका बासिन्दालाई सचेत रहन अनुरोध गरिएको छ । वर्षाका कारण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडकमा पहिरो खसेपछि गएरातिदेखि नै सडक दुईतर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदहस्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ । लगातारको वर्षाका कारण देवदह –७ शितलनगरस्थित घोडाहा खोलाको पक्की पुल भासिएको हो ।

पुल भासिएपछि राजमार्गमा गाडी ओहोरदोहोर गर्न नसकेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। भरतपुर महानगरपालिका–२९ सेती दोभान र पाँचकिलोमा पहिरो खसेको छ । पहिरोका कारण भीमदत्त राजमार्ग पनि अवरुद्ध भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *