Main News

औपचारिक रुपमा विभाजनपछि पहिलोपटक एमाले केन्द्रीय कमिटी बैठक बस्दै

हिमालय टिभी
२०७८ भदौ १० गते ७:४२
औपचारिक रुपमा विभाजनपछि पहिलोपटक एमाले केन्द्रीय कमिटी बैठक बस्दै

१० भदौ २०७८ काठमाडौं । औपचारिक रुपमा पार्टी विभाजन भएपछि पहिलो पटक प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

ललितपुरस्थित लुल्सिलाल स्मृति प्रतिष्ठानमा बस्ने केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी बैठकका निर्णय अनुमदन गरिनेछ ।

वरिष्ठ नेता माधवकुमार नेपालले ६० जना केन्द्रीय सदस्य र ३३ जना संघीय सांसदसहित पार्टी विभाजन गरेको भोलिपल्ट एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

आजको बैठकमा पार्टी विभाजनपछिको अवस्थाबारे समीक्षा हुने र थप रणनीति बनाउने तयारी भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

यसअघि बुधबार बसेको स्थायी कमिटीले गरेको निर्णयलाई आजको बैठकले परिमार्जनसहित अनुमोदन गर्ने छ । एमालेले विभाजनपछि पार्टीका स्थानीय कमिटीलाई व्यवस्थित गर्न देशैभर २०७८ साल कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको छ ।

यही भदौ १६ देखि २० सम्म केन्द्रीय प्रशिक्षकको उपस्थितिमा सबै जिल्लामा कार्यकर्ता भेला र जनसङ्गठनको केन्द्रीय कार्यकर्ताको भेला आयोजना हुँदैछ ।

महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजबारे छलफल गर्न यही भदौ २५ र २६ स्थायी कमिटी र २७ गते केन्द्रीय कमिटीको बैठक आयोजना हुनेछ।

एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म तथा विधान महाधिवेशन आगामी असोज ४ देखि ६ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ।

त्यसपूर्व सदस्यता नवीकरण, वडा र पालिकास्तरका अधिवेशन, विधान महाधिवेशनलगायतका कार्यतालिकालाई संशोधन गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *