राजनीति

१० जना स्थायी कमिटी सदस्य ओलीकै साथमा लागेपछि… (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ९ गते २०:४५
१० जना स्थायी कमिटी सदस्य ओलीकै साथमा लागेपछि… (भिडियो रिपोर्टसहित)

९ भदौ २०७८ काठमाडौं । माधवकुमार नेपाललाई छोडेर एमाले स्थायी कमिटीका १० जना सदस्य अध्यक्ष केपी शर्मा ओलीकै साथमा लागे । हिजो उनीहरुले संसद विघटन, दल विभाजनसम्बन्धी अध्यादेश, पार्टी चलाउने केपी शर्मा ओलीको कार्यशैलीप्रति चर्को विरोध गरेका थिए ।

तर ओलीले उनीहरुकै साथ लिएर हिजो आफूले गल्ती गरेको होइन, ठीक गरेका थिएँ भनेर बचाउ गर्ने कोशिस गर्नुभएको छ । आज आयोजित पत्रकार सम्मेलनमा ओलीले त्यसै गर्नुभयो ।

आठ महिनासम्म चर्को आलोचना गर्दै बाहिर बसेको असन्तुष्ट पक्षको एक खेमा मंगलबार औपचारिक रुपमा आफूमा समाहित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुसँग यसरी सामूहिक फोटो खिच्नुभयो । र, अब तिमीसँग होइन भीम रावल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, गोकर्ण विष्ट र योगेश भट्टराई लगायतका नेता मसँग छन भने माधवकुमार नेपाललाई सन्देश दिनुभयो ।

त्यसको अर्को दिन बुधबार पनि ओलीले फेरि उनीहरुलाई साथ राखेर पत्रकार सम्मेलन गर्नुभयो । युवराज ज्ञवाली र भीम रावललाई दायाँ बायाँ राखेर ओलीले हिजो आफूले गरेका कमजोरी ठीक थिए भन्ने जिकिर गर्नुभयो । अदालतले संसद पुनर्स्थापाना गरिदियो । तर त्यो उहाँलाई चित्त बुझेको छैन । विघटन ठीक थियो भन्दै आएका ओलीले संसदले के काम गरेको छ र भनेर प्रश्न गर्नुभयो ।

अहिले ओलीमा समाहित भएका नेताहरु संसद विघटन गलत थियो र संसद पुनर्स्थापना सही थियो भन्ने पक्षमा थिए, हस्ताक्षर नै गर्नेहरु पनि यसमा छन् । तर उनीहरुलाई साथमा राखेर ओलीले विघटन सही थियो भन्ने दावी पेश गर्न भ्याउनुभयो ।

दल विभाजन सम्बन्धी अध्यादेश हिजो ओलीले ल्याउँदा पनि विरोध भएको थियो र आज देउवाले ल्याउँदा पनि विरोध भैरहेको छ । तेस्रो धारमा उभिएर ओलीका पक्षमा लागेका नेताहरु पनि अध्यादेशको विरोधमा थिए र छन् । तर ओलीले हिजो आफूले ल्याएको अध्यादेश ठीक र अहिले देउवाले ल्याएको अध्यादेश बेठीक भनेर उनीहरुलाई साक्षी राखेर भन्नुभयो ।

एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको थियो, त्यो ओलीकै कारण विभाजन भयो भन्ने धेरैको मत छ, नेकपा नफुट्दा पनि ओलीको कार्यशैलीले नै समस्या पारेको भनेर आवाज उठेको थियो । तर भर्खरै माधवुकमार नेपाललाई छोडेका नेतालाई वरिवरि राखेर ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालकै कारण विभाजनको अवस्था आएको भन्न भ्याउनुभयो ।

यी विषय उठाएर ओलीले तेस्रो धार भनिएकाहरुमाथि हमला मात्रै गर्नुभएको छैन, उनीहरुलाई नै साथ राखेर मैले जे गरेको थिएँ ठीक गरेको थिएँ भनेर सावित गर्ने कोशिस गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्