तोकिएकै समयमा महाधिवेशन हुनेमा वरिष्ठ नेता पौडेलको आशंका

९ भदौ २०७८ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अझै पनि तोकिएको समयमा महाधिवेशन हुनेमा आशंका व्यक्त गर्नुभएको छ ।
पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिको धर्नामा ऐक्यबद्धता जनाउन पुगेका पौडेलले भदौ १८ गते वडा अधिवेशन शुरु गर्ने गरी ल्याइएको नयाँ कार्यतालिका कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभएको हो ।
पौडेलले पार्टीका क्रियाशील सदस्यको नामावली तत्काल सार्वजनिक गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिनुभयो ।
पौडेल पक्षले पार्टीको क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने माग गर्दै आएको छ । सभापति देउवाले अधिवेशन गर्छु भन्ने तर गर्ने वातावरण नबनाएको भन्दै उहाँले आलोचना गर्नुभयो ।
कांग्रेसका जिल्ला सभापतिले तीन बुँदे माग राख्दै आजदेखि रिले अनसन शुरु गरेका हुन। पहिलो दिन नुवाकोट सभापति केसीसहित धादिङका सभापति रमेश धमला र काभ्रेका सभापति मधु आचार्यसहितका नेता अनसनमा बसेका छन् ।
प्रत्येक दिन तीन जिल्ला सभापति अनशनमा बस्ने केसीले जानकारी दिनुभयो । कांग्रेसले १४ औं महाधिवेशन मंसिर ९ देखि १३ सम्म गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
वडा अधिवेशन आउन १० दिन पनि बाँकी नरहेका बेला निर्वाचन समितिले क्रियाशील सदस्यताको अन्तिम सूची पाएको छैन ।
प्रतिक्रिया