Main News

निजी चिकित्सा शिक्षण संस्थाले चिकित्सा शिक्षा आयाेगलाई बुझाए साँचाे (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ८ गते २०:३४
निजी चिकित्सा शिक्षण संस्थाले चिकित्सा शिक्षा आयाेगलाई बुझाए साँचाे (भिडियो रिपोर्टसहित)

८ भदौ २०७८ काठमाडौं । देशभरका ६० वटा निजी स्वास्थ्य शिक्षण संस्थाले आफ्नो संस्था बन्द गरेर आज चिकित्सा शिक्षा आयोग भक्तपुरमा साँचो बुझाएका छन् ।बीएससी नर्सिङ लगायका विषयमा छुट्याइएको सिट संख्याभन्दा प्रवेश परीक्षामा उत्तीर्ण हुनेको संख्या कम भएपछि उनीहरु कलेज सञ्चालन नै गर्न नसक्ने भन्दै कलेज बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

चिकित्सा शिक्षा आयोगले बीपीएचमा १ हजार ४ सय २० सिट छुट्याएकोमा आधा भन्दा पनि थोरै ५ सय ६५ जनाले मात्रै प्रवेश परीक्षा उत्तीर्ण गरेका छन् । यस्तै बीएससी नर्सिङका लागि १ हजार १ सय कोटा भएकोमा ५ सय ४ जनाले प्रवेश परीक्षा उतीर्ण गरेका छन् ।

बी फार्मेसीमा ९ सय २ वटा कोटा भएपनि ५ सय ४७ जना मात्रै उत्तीर्ण छन् । फिजियोथेरापी बिपिटीमा १ सय ५० जनाको कोटा छ तर १ सय १४ जना उत्तीर्ण छन् । बीएस्सी एमआईटी रेडियोग्राफीमा ७१ मा ३५ जना, बिएस्सी एमएलटी ४ सय २५ सिटमा १ सय १८ जना उत्तीर्ण भएका छन् ।

बीएस्सी नर्सिङमा एक हजार १ सय कोटा छ, तर ५ सय ४ जना मात्रै उत्तीर्ण छन् । स्वास्थ्य शिक्षा पढाउने देशभरका शैक्षिक संस्थामा सिट भए पनि प्रवेश परीक्षामा त्यो सिट भरिने गरेर विद्यार्थी उत्तीर्ण नभएपछि सञ्चालकहरु आन्दोलनमा उत्रिएका छन् ।

चिकित्सा शिक्षा आयोगले स्नातकतर्फ लिएको एकीकृत प्रवेश परीक्षा व्यवहारिक नभएका कारण कम विद्यार्थी उत्तीर्ण भएको भन्दै नर्सिङ तथा पारामेडिक्स अध्ययन गराउने कलेज सञ्चालकहरु आयोगसँग असन्तुष्ट छन् ।

अध्यापनका लागि तोकिएको विद्यार्थी कोटा भन्दा पनि कम विद्यार्थी उत्तीर्ण हुने मापदण्ड बनाई परीक्षा सञ्चालन गरी निजी कलेज बन्द गराउने रणनीति आयोगले लिएको आरोप उनीहरुको छ ।

कलेज सञ्चालकहरुले एकीकृत प्रवेश परीक्षाको नतिजालाई पुनर्विचार गर्न पनि माग गरेका छन् ।

आयोगको निर्णयले कलेज नै पूर्ण रुपमा बन्द हुने अवस्थामा पुगेको भन्दै कलेज सञ्चालक चिन्तित छन् । चारवटा विश्वविद्यालयका नर्सिङ तथा पारामेडिक्सको अवस्था हेरेर उतीर्ण प्रतिशत राख्नुपर्ने उनीहरुको माग छ ।

कलेजहरुले प्रवेश परीक्षा अव्यवहारिक रहेको र थोरै विद्यार्थी उत्तीर्ण भएको भनेपनि आयोगले भने प्रवेश परीक्षा व्यवहारिक रहेको दाबी गरेको छ । विद्यार्थी उर्तिण हुन नसक्नुलाई उसले परीक्षलाई कारण मानेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *