छानबिन शुरु भएपछि नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले दिए पदबाट राजीनामा

८ भदौ २०७८ काठमाडौं । नैतिक आचरणविपरीत श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको शेयर किनेका नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिनुभएको छ।
साउदले अर्थ मन्त्रालयमा राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गरेर सरकारले छानबिन समिति गठन गरेकाले त्यसलाई सघाउन पदबाट राजीनामा दिएको बताउनुभयो ।
बुक बिल्डिङ्ग विधिबाट आईपीओ निकाल्न लागेको सर्वोत्तम सिमेन्टको संस्थापक शेयर साउदकी श्रीमतीको नाममा किनेको फेला परेपछि उहाँमाथि अर्थमन्त्रालयले छानबिन गरिरहेको छ ।
साउदले आफूले कानून बमोजिम नै शेयर खरिद गरेको दावी गर्दै आए पनि आज राजीनामा दिनुभएको हो । साउदले आफूले पदीय जिम्मेवारीमा रहँदा कुनै अवाच्छित काम नगरेको भन्दै अनुसन्धानमा सहयोग पुर्याउन राजीनामा दिएको दाबीसमेत गर्नुभयो ।
साउदले राजीनामा दिए पनि छोरीको नाममा शेयर किन्ने नेपाल धितोपत्र बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले भने अहिले पनि पदमै हुनुहुन्छ ।
साउदले जस्तै ढुंगानाले पनि पदीय जिम्मेवारी भुलेर छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर किन्नु भएको थियो । मन्त्रालयले साउदकै जस्तो ढुंगानाका बारेमा पनि छानबिन गरिरहेको छ ।
प्रतिक्रिया