राजनीति

एमालेमा २०७५ साल जेठ २ गतेमा फर्कने तयारी, होला त १० बुँदे सहमति कार्यान्वयन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ७ गते २०:१६
एमालेमा २०७५ साल जेठ २ गतेमा फर्कने तयारी, होला त १० बुँदे सहमति कार्यान्वयन ? (भिडियो रिपोर्टसहित)

७ भदौ २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकता पक्षधर नेताहरुबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ ।

सहमति अनुसार मंगलबार स्थायी कमिटीको बैठक बोलाइएको छ, जसले १० बुँदे अनुसार २०७५ साल जेठ २ गते कायम भएका नेकपा एमालेका कमिटीहरु क्रियाशील बनाउने कार्यतालिका बनाउने नेताहरुले बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र एकतावादी भनिएका स्थायी कमिटीमा रहेका तेस्रो धारका नेताबीच ओली निवास बालकोटमा झण्डै तीन घण्टा छलफल भयो । र, तेस्रो धारका नेताहरुले अल्टिमेट दिएर माग गरे अनुसारको सीमा भित्र १० बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष ओली तयार हुनुभयो । छलफलपछि दुवै पक्ष उत्साही र आशावादी देखिएका छन ।

१० बुँदेले भने अनुसार २०७५ साल जेठ २ गते कायम भएका नेकपा एमालेका केन्द्रदेखि प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, गाउँ, वडा, टोलसम्मका सम्पूर्ण कमिटीहरु क्रियाशील गर्ने सहमति भएको छ । र, त्यसको ढाँचा मंगलवार बस्ने स्थायी कमिटी बैठकले बनाउनेछ । जुन बैठकमा तेस्रो धारमा रहेका स्थायी कमिटी सदस्यपनि सहभागी हुनेछन ।

१० बुँदेअनुसार पार्टीलाई २०७५ साल जेठ २ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव पोखरेल र उपमहासचिव विष्णु पौडेललाई जिम्मा दिइएको छ ।

अब पार्टी एक भएर बढ्छ कि बढ्दैन भन्ने यी तीन नेताले बनाउने प्रस्तावमा भर पर्नेछ । २०७५ साल जेठ २ गते जुनजुन नेताको जिम्मेवारी जे थियो, त्यो यथावत राख्न पनि अध्यक्ष ओली तयार हुनुभएको छ । पार्टी छाडेका वा विभाजनमा लागेका बाहेक सबै नेतालाई पूर्ववत फर्किएमा जिम्मेवारी दिने सहमति भएको छ ।

तर माधवकुमार नेपाललाई हेर्ने विषयमा भने दुई पक्षमा केही मतभिन्नता देखिएको छ । संस्थापन पक्ष अब नेता नेपाल नफर्कनेमा ढुक्क छ भने तेस्रो धारले पार्टीमा फर्किने र एकतावद्ध हुने आशा सहित अपील गरेको छ ।

एकता पक्षधर नेताहरुले माधवकुमार नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिनुपर्ने शर्त राखेको थियो । तर संस्थापनले एकतामा आए त्यो विषय स्वत अमान्य हुने भन्दै फिर्ता लिनुनपर्ने तर्क गरेको छ ।

त्यसै अनुसार मंगलवारको स्थायी कमिटी बैठकले अलग्गै पार्टी दर्ताको प्रक्रिया रोक्न र पार्टी एकतामा आउन आह्वान गर्नेछ । ओलीसँगको सहमतिपछि तेस्रो धारका नेताहरु एमालेमै रहने संभावना बढेको त बढेको छ तर त्यसको वास्तविक चित्र भने मंगलवारको स्थायी कमिटी बैठकबाट आउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्