Main News

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीलाई विश्वासको मत प्राप्त

हिमालय टिभी
२०७८ भदौ ७ गते १७:४१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीलाई विश्वासको मत प्राप्त

७ भदौ २०७८ रुपन्देही । प्रतिपक्षी नेकपा एमालेले बहिष्कार गरेको प्रदेशसभामा आज लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिनु भएको छ ।

दुईजना सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै एमालेले बहिष्कार गरे पनि सभामुखले विश्वासको मत लिने प्रस्ताव अघि बढाउनुभएको थियो । ८० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री केसीले ४२ मत प्राप्त गर्नुभएको छ । बैठकमा उपस्थित ४३ सांसदमध्ये एकजना भने तटस्थ बसेका थिए ।

नेकपा एमालेका सांसदले प्रदेशसभा सदस्यद्वय अजय शाही र विमलाकुमारी खत्रीलाई कारबाहीको माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध पार्दै आएका थिए ।

आज पनि दिउँसो दुई पटकसम्म बैठक अवरोध भएपछि सभामुख घर्तीले तेस्रोपटक बैठक सञ्चालन गर्नुभएको थियो। बैठकमा मुख्यमन्त्री केसीले विपक्षी दललाई दम्भ र अहंकार त्यागेर लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभयो ।

विश्वासको मत माग्दै केसीले संविधान प्रदत्त अधिकार प्रयोग गर्न र लोकतन्त्रको मर्मअनुसारको व्यवहार गर्न प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गर्नुभयो ।

बैठक बहिष्कार गरेको नेकपा एमालेले भने प्रदेशसभा सचिवालयले दलीय आधारमा विभेदपूर्ण व्यवहार गरेको आरोप लगाएको छ ।

माओवादी केन्द्रका नेता केसी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा गत साउन २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । यसअघि एमालेले लगातार अवरोध गरेपछि प्रदेशसभा बैठक स्थगित हुँदै आएको थियो ।

प्रदेशसभा सचिवालयले दुईजना सांसदलाई पदमुक्त गर्न नमिल्ने भन्दै एमालेलाई पत्र पठाइसकेको छ । सत्तारुढ दलले यसविषयमा संसद अवरुद्ध गर्नुको साटो अदालत जान विपक्षी एमालेलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *