एमाले अध्यक्ष ओली र एकता पक्षधर नेताबीच दशबुँदे कार्यान्वयन गर्ने सहमति (भिडियो रिपोर्टसहित)
७ भदौ २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकता पक्षधर नेताहरुबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ ।
ओली निवास बालकोटमा भएको दुई पक्षीय वार्तामा १० बुँदे सहमति कार्यान्वयन गर्ने र पार्टीलाई एक राख्ने सहमति भएको हो ।
सहमतिअनुसार भोलिका स्थायी कमिटीको बैठक बोलाइएको छ, जसले १० बुँदे अनुसार २०७५ साल जेठ २ गते कायम भएका नेकपा एमालेका कमिटीहरु क्रियाशील बनाउने कार्यतालिका बनाउने नेताहरुले बताएका छन् ।
बैठकमा सहभागी एमाले सचिव योगेश भट्टराईले १० बुँदे सहमति कार्यान्वयन गर्न र पार्टी एकताका लागि जिम्मेवार बन्न अध्यक्ष ओली तयार भएकाले सहमतिको वातावरण बनेको बताउनुभयो ।
विभाजनको बाटो छाडेर पार्टीमा फर्किनेका लागि पुरानै जिम्मेवारी दिन र कारबाही फिर्ता लिन पनि अध्यक्ष ओली सहमत भएको नेता भट्टराईको भनाइ छ ।
भोलिको स्थायी कमिटीको बैठकले नयाँ पार्टी दर्ताको प्रक्रियामा गएकाहरुलाई पनि पार्टी एकताको पक्षमा आउन र पार्टीमा फर्किन अपिल गर्नेछ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पनि १० बुँदे सहमति कार्यान्वयमा सहमति भएको र स्थायी कमिटीको बैठकले ठोस निश्कर्ष निकाल्ने जानकारी दिनु भयो ।
नेपालले अलग्गै बाटो तय गरिसकेको अवस्थामा उहाँ फर्किनेमा विश्वास गर्न सक्ने अवस्था नरहेपनि विभाजनको प्रक्रियामा गएका तर पछि पुन पार्टीमै फर्किन चाहानेहरुका लागि पुरानै जिम्मेवारी दिइने पनि ज्ञवालीले बताउनुभयो ।
१० बुँदे सहमति अनुसार २०७५ जेठ २ गते कै अवस्थामा पार्टी फर्किएको र त्यही अनुसार पार्टी कमिटीहरु क्रियाशील हुने र पार्टीमा फर्किने नेताहरुले विगतकै अनुसार जिम्मेवारी पाउने नेता ज्ञवालीले जानकारी दिनु भयो ।
प्रतिक्रिया