नेकपा एमालेले सभामुखलाई धम्की दिएकोमा सत्ता गठबन्धनले जनायो आपत्ति (भिडियो रिपोर्टसहित)
७ भदौ २०७८ काठमाडौं । सत्तारुढ गठबन्धनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई धम्की दिएको भन्दै कडा आपत्ति जनाएको छ ।
एमालेले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्न दबाब दिँदै एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले सांसदहरुले सभामुखलाई धम्की दिएकोमा सत्तागठबन्धनले आपत्ति जनाएको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति निकालेर संवैधानिक मर्यादा अवलम्बन गर्न समेत विपक्षी दलका नेता ओलीलाई आग्रह गरेका छन् ।
केही दिनअघि एमाले अध्यक्ष ओलीले एक अन्तर्वार्तामा माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त नगरेकोमा आक्रोश व्यक्त गर्दै सभामुखलाई संसद चलाउन र पदमा बस्न मन छ कि छैन भनेर धम्कीपूर्ण अभिव्यक्ति दिनुभएको थियो ।
यस्तै एमाले सांसदहरुको टोलीले सभामुखलाई सिंहदरबारमा भेटेर १४ जना सांसदलाई पदमुक्त नगरे बल प्रयोग हुन सक्ने भनेर धम्काएका थिए । यही विषयलाई लिएर सत्ता गठबन्धन सभामुखको बचाउमा उत्रिएको हो ।
प्रतिक्रिया