Main News

आकस्मिक रुपमा नेपाल आएका भारतीय नेता चौथाइवालेले ककसलाई भेट्दै छन् ?

हिमालय टिभी
२०७८ भदौ ७ गते ७:३२
आकस्मिक रुपमा नेपाल आएका भारतीय नेता चौथाइवालेले ककसलाई भेट्दै छन् ?

७ भदौ २०७८ काठमाडौं । सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले आकस्मिक रुपमा नेपाल आउनुभएको छ ।

उहाँ एअर इण्डियाको जहाजबाट काठमाडौं आउनु भएको हो । यात्राको उद्देश्य र भेटघाटका पात्रहरु नखुलाई भारतीय दूतावासले चौथाइवालेले नेपाल आउन लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिशिष्ट कक्ष प्रयोग गर्न दिन परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको थियो ।

चौथाइवालेलेको भ्रमणको उद्देश्य खुलेको छैन । शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि माथिल्लोस्तरका भारतीय नेताको यो पहिलो भ्रमण हो । चारदिने अनौपचारिक भ्रमणका क्रममा नेपाल आएकै दिन उहाँले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश देउवालाई सुनाउनु भएको थियो । देउवा प्रधानमन्त्री भएपछि भारतबाट आएका चौथाइवालेले सबैभन्दा उच्चस्तरीय नेता हुनुहुन्छ ।

देउवा प्रधानमन्त्री भएपछि भारतीय समकक्षी मोदीसँग टेलिफोनमा कुराकानी भएलगत्तै चौथाइवालेले पनि देउवालाई टेलिफोन गर्नु भएको थियो । चौथाइवालेले यसअघि गत मंसिरमा विमान सेवा नखुल्दा पनि भैरहवा हुँदै स्थलमार्गबाट नेपाल भ्रमणमा आउनु भएको थियो ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलको निमन्त्रणमा आएका चौथाइवालेले तत्कालीन प्रधानमन्त्री केपी ओलीसहित उहाँ निकट नेताहरुसँग पनि भेट गर्नुभएको थियो ।

जुन भ्रमणको पार्टी भित्रै विरोध भएको थियो । चौथाइवालेले हिजो नै कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा। प्रकाशशरण महतसँग पनि भेटवार्ता गर्नु भएको छ ।

भेटमा नेपाल–भारत सम्बन्ध र विशेष गरी नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीच सम्बन्ध विस्तारबारे छलफल भएको थियो । भारतीय नेता चौथाइवालेले एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेतासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *