कोरोनाको खोपमा पनि झेल, पहुँच हुनेले यसरी मिच्छन् लाइन् (भिडियो रिपोर्टसहित)

६ भदौ २०७८ काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्ने अन्तिम उपाय खोप भएपछि खोप केन्द्रमा नागरिक खोप लगाउन घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता छ ।
कतिपय भाग्यमानीले खोप लगाउन पाउछन् भने कतिपय भने दिनभर लाइनमा बसेर पनि खोप नलगाइ निराश भएर घर फर्किन विवश छन् । तर पहुँच हुने र खोप केन्द्रमा आफ्ना मान्छे हुनेहरु भने लाइन नलागी नै खोप लगाउँदै आएका छन् ।
अहिले सरकारले विद्यार्थी र चालिस वर्ष माथिका नागरिकलाइ कोरोनाविरुद्धको खोप लगाइरहेको छ । खोप लगाउन स्थानीय तह र विभिन्न अस्पताललाई जिम्मेवारी दिइएको छ । खोप केन्द्रमा बिहानैदेखि खोप लगाउनेको लाम लाग्छ । घामपानीको परवाह नगरी नागरिक खोप लगाउनलागि घण्टौं प्रतीक्षा गर्छन् ।
काठमाडौंको ज्ञानेश्वरमा देखिएको यो लाम पनि खोप लगाउनेहरुको हो । उनीहरु मध्ये अधिकांश बिहान १० बजे नै आइपुगेको थिए । घण्टौं कुरेपछि बल्ल खोप लगाउने पालो आउँछ ।
खोप केन्द्र व्यवस्थित गर्न र पालै पालो खोप केन्द्र भित्र पठाउन प्रहरी र वडा कार्यालयले स्वयंम सेवक खटाएको पनि छ । तर यी सुरक्षाकर्मी र स्वयंमसेवकको काम भने आफ्ना मान्छेलाई कुर्ने झण्झटबाट छुटकारा दिनु भैरहेको छ ।
सयौं मानिस खोपको आशमा बसिरहेका बेला यी व्यक्ति सरासर खोप केन्द्रको प्रवेशद्वारमा आए र कसैलाई फोन गरे । भित्रबाट स्वयंमसेवक आएर र भित्र छिर्न इसारा गरे । तर हाम्रो क्यामेरा देखेपछि भने उनी असजिलो कतिबेला क्यामेरा छल्न पाइएला अनि भित्र छिरौंला भन्दै मौका बाहिर कुरेर बसिरहे । पटक पटकको प्रयासपछि भित्रका स्वयंम सेवक आएर उनलाइ सरासर भित्र छिराए ।
आम नागरिक घण्टौं लाममा बस्दा पनि पालो नपाउँदा खोप केन्द्र भित्र पहुँच भएका यी व्यक्ति भने बिना दुख खोप लगाएर फर्किए । यी त उदाहरण मात्रै हुन् । खोप केन्द्रमा खटिएका व्यक्तिका आफन्त र चिनजानका व्यक्ति यसै गरी पालो नकुरी घुस्ने गरेका छन् । अरु भने हेरेको हेरै हुन्छन् । प्रतिवाद त गर्छन् तर कस्ले सुनिदिने ।
गेटमा बसेका सुरक्षाकर्मी र स्वयंसेवक भने पालो मिचेर कसैलाई नछिराएको दाबी गर्छन् ।
शक्ति र पहुँच हुनेले सहजै खोप लगाउन पाउँदा बिहानै देखि कुरेर बसेका सबैले खोप लगाउन नपाएर फर्किनुपर्ने बाध्यता छ । खोप सकिएको भन्दै जनप्रतिनिधि, कर्मचारी र स्वयंमसेवकले फर्काउँछन् । दिनभर कुरेर पनि खोप नपाउने र पहुँच हुनेले सहजै खोप लगाउने अवस्था देख्दा जो कोही आक्रोशित हुनु स्वभाविकै हो ।
खोप केन्द्रका प्रतिनिधिले जर्वजस्ती लाम लागेका लागेको भन्दै उनीहरुलाई नै उल्टै दोष दिन्छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३० ले यहाँ खोप लगाउने व्यवस्था गरेको हो । वडा अध्यक्ष दलबहादुर कार्कीले वडाका बाासिन्दालाइ लाम नलागे पनि सोझै भित्र पठाइने गरेको भन्दै बीच बीचमा आफ्ना मान्छे घुसाउने स्ययमसेवकको बचाउ गर्नुभयो ।
यो खोप केन्द्र एक उदाहरण मात्रै हो , संघीय राजधानी काठमाडौं र देशभरका खोप केन्द्रमा यस्ता दृश्य धेरै देख्न सकिन्छ । कतिपय स्थानमा त खाजा घर र होटलमा पनि खोप लगाउने गरिएका घटना पनि बाहिर आएका छन् । सामान्य लाग्ने यस्ता क्रियाकलापकै कारण हरेक क्षेत्रमा अनियमितता बढ्दो छ । यस्तै क्रियाकलाप रोक्न सके मात्रै देशमा सुशासन कामय हुने हो ।
प्रतिक्रिया