Main News

मेयर शाक्यको ‘स्मार्ट काठमाडौं’का सडकमा फोहोरको डंगुर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ६ गते २०:२७
मेयर शाक्यको ‘स्मार्ट काठमाडौं’का सडकमा फोहोरको डंगुर (भिडियो रिपोर्टसहित)

६ भदौ २०७८ काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले चुनाव जितेपछि मात्र हैन, चुनावमा उठेदेखि नै काठमाडौंलाई स्मार्ट सिटी बनाउने घोषणा गर्नुभएको थियो । उहाँले चुनाव जितेर चार वर्षको कार्यकाल पूरा गरिसक्नुभयो । तर काठमाडौंलाई स्मार्ट बनाउनु भएन । अहिले काठमाडौंका सडकमा थुप्रिएको फोहोरले मेयर शाक्यको त्यो प्रतिबद्धतालाई गिज्याइँ रहेको छ ।

चितवनका पर्वनाथ सञ्जेल काठमाडौं आएको केही दिन भयो । गाउँको स्वच्छ हावापानीमा बस्दै आएका सञ्जेललाई काठमाडौं यति धेरै दुर्गन्धित होला भन्ने लागेको थिएन । तर काठमाडौं उहाँले सोचेको जस्तो पाउनुभएन ।

काठमाडौं महानगरपालिकाले फोहोर फाल्ने स्थान सिसडोलको बाटो विग्रिएको भन्दै केही समय फोहोर घरमै व्यवस्थापन गर्न भनेको थियो । तर नागरिकका घरको डस्टबिन पनि भरिएपछि अहिले फोहर सडकमा आइपुगेको छ । काठमाडौंका चोक चोक फोहोरले भरिएकाछन् । नागरिकलाई बाटोमा हिड्न समेत समस्या छ ।

सिसडोलमा फोहोर फ्याक्न नसक्ने भन्दै महानगरपालिकाले फाहोर उठाएको छैन । जस्ले गर्दा दुर्गन्ध बढ्दो छ र नागरिकलाई विरामी पर्ने हो भन्ने चिन्ताले सताउन थालेको छ ।

सडक बिग्रिएको भन्दै महानगरले फोहोर व्यवस्थापनमा ढिलाई गर्न नहुने माग नागरिकको छ ।

काठमाडौंको सडकमा फोहोर थुप्रिएपछि केही ठाउँमा फोहोर उठाउन थालिएको छ । तर फोहोर बोकेर जाने गाडीका चालकलाई सिसडोल पुग्न सकिने हो कि हैन भन्ने चिन्ता छ । पानी परेपछि सिसडोल पुग्न सकिँदैन । सिसडोलमै भएको बेला पानी परेमा फर्कन पनि सकिँदैन । त्यसैले चालकहरु पानी नपरे मात्र सिसडोल जाने तयारीमा छन् ।

अमृतका अनुसार फोहोरको गाडी लिएर सिसडोलसम्म सहजै पुग्ने अवस्था छैन । तर सरकारले चाह्यो भने दुई दिन भित्रै त्यो सडक राम्रो हुन्छ र फोहोर लान सहज हुन्छ ।

सवारी चालक अमृतले भनेजस्तै सरकारले चाह्यो भने तत्कालै सिसडोलसम्म पुग्ने सडक निर्माण हुन्छ । तर जिम्मेवार निकाय सडक निर्माण कार्यमा मौन छ । र काठमाडौं महानगरपालिका एउटा सूचना निकालेर ढुक्कसँग बसेको छ । र त नागरिकले काठमाडौंलाई स्मार्ट सिटी बनाउने प्रतिबद्धता गरेका मेयर शाक्यले डर्टी सिटी बनाउनु भएछ भनेर व्यङ्ग्य गर्न थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *