Main News

अफगानिस्तानबाट आज थप १ सय ६० जना नेपाली स्वदेश फर्कँदै

हिमालय टिभी
२०७८ भदौ ४ गते १३:२०
अफगानिस्तानबाट आज थप १ सय ६० जना नेपाली स्वदेश फर्कँदै

४ भदौ २०७८ काठमाडौं । अफगानिस्तानबाट आज थप १ सय ६० नेपाली स्वदेश फर्किदैछन्।

उनीहरु चार्टर्ड उडानबाट आज साँझ काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। आज बेलुका पाँच बजेपछि जजिरा एयरको विमानमार्फत नेपालीहरु स्वदेश आउन लागेको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

अफगानिस्तानस्थित विभिन्न देशको दूतावासको सुरक्षामा खटिएका अधिकांश नेपालीले काबुल छाडेका छन्। काबुलस्थित अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान र जर्मन राजदूतावासमा कार्यरत नेपालीलाई दोहा, तासकन्द, अलमाटी, साइप्रस, दुबई, कुवेत तथा लन्डन पुर्‍याइएको छ।

लन्डनमा रहेका नेपालीहरू क्वारेन्टाइनमा छन् भने ट्रान्जिटमा रहेका नेपालीहरू स्वदेश फर्कने क्रममा छन्। संयुक्त राष्ट्रसंघीय मिसन र युनिसेफमा कार्यरत ४ सय ७० जनाबाहेक ग्रिन जोनमा कार्यरत करिब एक हजार नेपालीले काबुल छाडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

हिजो जजिरा एयरको कुवेत–काठमाडौं नियमित उडानबाट थप आठजना नेपाली काठमाडौं आइपुगेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म २ सय ९६ नेपाली स्वदेश आइपुगेका छन्।

गैरकानूनी रूपमा त्यहाँ पुगेका नेपालीको हकमा भने विवरण यकिन भएपछि अर्को साता उद्धारका लागि उपाय तय हुने बताइएको छ।

यसैबीच अफगानिस्तानमा रहेका नेपालीमध्ये ३ सय जनाले आफूहरु स्वदेश फर्कन चाहेको भन्दै कन्सुलर सेवा विभागको वेब पोर्टलमा आफ्नो विवरण टिपाएका छन्।

त्यस्तै परराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखाअन्तर्गत नायब शिष्टाचार महापालको नेतृत्वमा रहेको ‘सिच्युसन रुम’ मा हिजो साँझ ५ बजेसम्म ४२ नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *