राजनीति

नयाँ पार्टी खोलेका माधव नेपाल सामु देखिएका यस्ता छन् मुख्य पाँच चुनौति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ३ गते २०:४१
नयाँ पार्टी खोलेका माधव नेपाल सामु देखिएका यस्ता छन् मुख्य पाँच चुनौति (भिडियो रिपोर्टसहित)

३ भदौ २०७८ काठमाडौं । झण्डै डेढ दशक महासचिवको रुपमा नेकपा एमालेको नेतृत्व गरेका माधवकुमार नेपालले आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा नयाँ पार्टी खोल्ने जोखिम मोल्नुभएको छ । तर अब उहाँका सामु निकै ठुला चुनौति छन् । के के हुन सक्छन् त नेपालका चुनौति ?

विभाजनको सैद्धान्तिक आधार कमजोर
सामान्यतः वामपन्थी पार्टी फूट्दा सैद्धान्तिक विषय बढी उछालिन्छ । २०५४ सालमा एमाले फुट्दा पनि महाकाली सन्धि प्रमुख कारण थियो । त्यसकै आधारमा वामदेव गौतमसहितका नेताले संस्थापनलाई राष्ट्रघाती भन्दै नेकपा माले बनाए ।

तर यसपटक माधवकुमार नेपालसँग देखाउनैका लागि भए पनि ठोस सैद्धान्तिक आधार छैन । दुबै पक्षले मार्गदर्शक सिद्धान्तका रुपमा जनताको बहुदलीय जनवाद भनेका छन् । नेतृत्वबीचको इगो र शक्ति बाँडफाँट नै यसपटकको विभाजनमा मुख्य कारण देखिन्छ । त्यसैले माधव नेपालका लागि कार्यकर्तामा जाँदा सैद्धान्तिक मतभेद के थियो भनेर सोधिने प्रश्नको जवाफ दिन अप्ठेरो हुनेछ ।

फुटेर बनेका पार्टीको नराम्रो इतिहास
यसअघि ठूला पार्टी फुटेर बनेका पार्टी फस्टाएको इतिहास छैन । अधिकांश त पछि गएर मुल पार्टीसँग मिलेका छन् । वामदेव गौतम नेतृत्वको नेकपा माले पनि चुनावमा एक सिट पनि जित्न नसकेपछि फेरि एमालेमै विलिन भएको थियो । कांग्रेस फुटाएर कांग्रेस प्रजातान्त्रिक बनाएका शेरबहादुर देउवाले पनि त्यसलाई लामो समय चलाउन सक्नुभएन । नेता कार्यकर्ता सहजै नयाँ पार्टीमा नजाने प्रवृति नेपालमा देखिन्छ । त्यसैले यो इतिहास चिर्नुपर्ने ठुलो चुनौति अहिले माधवकुमार नेपालका सामु छ ।

आफ्नैको साथ नपाउँदा पर्ने प्रभाव
पार्टी विभाजनको निर्णय गर्नु अघि माधवकुमार नेपालसँग नेता कार्यकर्ताको ठूलो फौज देखिन्थ्यो । तर नयाँ दल दर्ता गर्ने बेला ती मध्ये धेरैले उहाँलाई साथ दिएनन् । पार्टी स्थायी समितिमा बहुमतमै रहेका नेपालले अन्तिममा भने औलामा गन्ने नेताको मात्रै सहयोग पाउनुभयो । त्यसमा पनि अधिकांश तेस्रो तहका छन् ।

यो अवस्थामा तल्लो तहका धेरै नेता कार्यकर्तालाई पार्टीमा आकर्षित गर्न नेपाललाई मुस्किल हुनेछ । अर्थात नयाँ पार्टीको सांगठनिक आधार सुरुवातमा सोंचेजस्तो नहुने प्रष्ट छ । अहिलेको सीमित शक्ति बढाएर ठुलो पार्टी बनाउनु नेपालको सामू अर्को चुनौति हो ।

पदलोलुपताको आरोप र पार्टीभित्र हुने विवाद
नयाँ पार्टी दर्ता हुनासाथ सरकारमा जाने माधवकुमार नेपालको तयारी छ । नेताहरुले सार्वजनिक रुपमै सरकारमा जाने बताइसकेका छन् । यसलाई एमालेले पद नपाएर पार्टी विभाजन गरेको अर्थमा प्रचार गर्न सक्नेछ ।

त्यसवाहेक सरकारमा जान पनि नेताहरुबीच हानथाप हुने संभावना छ । त्यसको संकेत अहिलेदेखि नै देखिइसकेको छ । यसले नेपालको नयाँ पार्टी शुरुदेखिनै विवादमा फस्न सक्छ । पद नपाउनेहरु फेरि एमालेमै फर्कन सक्नेछन् । त्यसैले पार्टीभित्र हुने पदीय विवाद मिलाएर कम्तिमा अहिलेकै शक्ति कायम राख्नु पनि नेपालका लागि सहज छैन ।

आसन्न चुनाव
संवैधानिक व्यवस्था अनुसार अब डेढ वर्षमा तीनवटै तहको चुनाव हुनेछ। नयाँ पार्टी भएकाले माधवकुमार नेपाललाई चुनावसम्म ठुलो शक्ति आर्जन भइसकेको हुनेछैन । यही अवस्थामा चुनावमा जाँदा नेपालको अवस्था सोंचेजस्तो हुनेछैन ।

उहाँसँग अन्य दलसँग तालमेलको विकल्प हुनेछ । तर तालमेल गर्दा पनि शक्तिका आधारमा सिट पाउने भएकाले नेपालको पार्टी गतिलो स्थितिमा रहन गाह्रो हुनेछ । आगामी तीन तहका निर्वाचन नै नेपालका लागि अर्को चुनौति हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्