राजनीति

नेपालसहित १४ सांसदलाई पदमुक्त नगरे सभामुखलाई पदबाट हटाउने एमालेको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ३ गते २०:०४
नेपालसहित १४ सांसदलाई पदमुक्त नगरे सभामुखलाई पदबाट हटाउने एमालेको चेतावनी (भिडियो रिपोर्टसहित)

३ भदौ २०७८ काठमाडौं । नेकपा एमालेले कारवाही गरिएका माधवकुमार नेपाल सहित १४ जना सांसदलाई छिटो पदमुक्त नगरे सभामुखलाई पदबाट हटाउने चेतावनी दिएको छ ।

आफुले कारवाही गरेको तीन दिनसम्म पनि सांसद पदमुक्त गरेको सूचना नटाँसेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोश व्यक्त गर्नुभएको हो ।

ओलीले सभामुख सापकोटाको नामै लिएर पदमा बस्न र सदन चलाउन मन छ कि छैन भनेर प्रश्न समेत गर्नुभएको छ ।

सभामुखलाई महाभियोग लगाएर मात्रै हटाउन सकिन्छ, त्यसैले ओलीले घुमाउरो ढंगले त्यही चेतावनी दिनुभएको हो । ओलीले सभामुख सापकोटा माओवादी कार्यकर्ता बनेको आरोप पनि लगाउनुभयो ।

सभामुख वा माओवादी कार्यकर्तामध्ये एक रोज्न उहाँले चेतावनी दिनुभयो । यस्तै एमालेको एक टोलीले माधवकुमार नेपालसहितका १४ जना सांसदलाई छिटो पदमुक्त गर्न भन्दै सभामुख सापकोटालाई भेटेर दबाब पनि दिएको छ । प्रमुख सचेतक विशाल भट्टराईसहितको टोलीले सभामुखको कार्यकक्षमै पुगेर तत्काल सूचना निकाल्न दबाब दिएको हो ।

सभामुख सापकोटाले भने १५ दिनभित्र कारवाहीको प्रक्रिया अघि बढाउनुपर्ने प्रावधानतर्फ एमालेको ध्यानाकर्षण गराउनुभएको थियो ।

कारबाहीको पत्र संसद सचिवालयमा दर्ता भएको १५ दिनभित्र संसद् चलेको भए सभामुखले पढेर सदनमा सुनाउने र नभए सूचना टाँसेर जानकारी गराउने कानूनी व्यवस्था रहेको भन्दै सभामुखले आफुले अध्ययन गरिरहेको जवाफ दिनुभएको हो ।

अलग पार्टी गठनको लागि सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेपछि एमालेले माधवकुमार नेपाल, सहित १४ सांसदलाई पदबाट हटाउन संसद् सचिवालयमा पत्र दर्ता गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्