Main News

अफगानिस्तान तालिबानले कब्जामा लिएपछि २ सय ८८ नेपाली स्वदेश फिर्ता

हिमालय टिभी
२०७८ भदौ ३ गते ७:४५
अफगानिस्तान तालिबानले कब्जामा लिएपछि २ सय ८८ नेपाली स्वदेश फिर्ता

३ भदौ २०७८ काठमाडौं । अफगानिस्तान तालिबान समूहले नियन्त्रणमा लिएपछि त्यहाँ रहेकामध्ये दुई सय ८८ जना नेपाली स्वदेश आइपुगेका छन् ।

मङ्गलबार बिहान एक सय १८ जना, राति ८४ जना, बुधबार बिहान ६१ जना र दिउँसो २५ जना गरी दुई सय ८८ जना काठमाण्डौ आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति निकालेर अफगानिस्तानबाट नेपाली फर्काउने काम भइरहेको भन्दै आफ्नो विवरण मन्त्रालयको वेबसाइटमा दर्ता गराउन आग्रह गरेको छ ।

अहिलेसम्म दुई सय ९६ जनाले नाम दर्ता गराएकोमा नाम दर्ता गराएकामध्ये १६ जनालाई नेपाल ल्याइएको र बाँकीलाई ल्याउने प्रक्रिया चलिरहेको विज्ञप्तिमा उल्लेख छ । अझै श्रम स्वीकृति लिएर संस्थागत रूपमा गएका ४ सय ३७ जना नेपाली अफगानिस्तानमा उद्धारको पर्खाइमा छन् ।

नेपालबाट अफगानिस्तानमा नेपाली कामदार पठाएका दुईवटा मेनपावर कम्पनीले यस्तो जानकारी दिएका हुन् । वैदेशिक रोजगार विभागले नेपालबाट अफगानिस्तानमा नेपाली कामदार पठाउने कार्यमा संस्थागत रूपमा संलग्न दुईवटा मेनपावर कम्पनीलाई नेपालीको अवस्थाबारे जानकारी लिएर आउन निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार काठमाडौंको एफएसआई ओल्ड मेनपावर कम्पनी र युनिभर्सल कनेक्सन मेनपावर कम्पनीले यस्तो जानकारी गराएको विभागले जनाएको छ ।

विभागले पनि अहिलेसम्म ४ सय ३७ जना नेपाली सम्पर्कमा आएर काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उद्धार गर्न जाने विमानको प्रतीक्षामा रहेको जानकारी सम्बन्धित मेनपावर कम्पनीले दिएको बताएको छ ।

विभागका महानिर्देशक कृष्णप्रसाद दुवाडीले दुईवटा मेनपावरबाट संस्थागत रूपमा अफगानिस्तान पुगेकाहरूको धमाधम उद्धार थालिएको बताउनुभयो ।

विभागका अनुसार श्रम स्वीकृति लिएर अफगानिस्तान पुग्नेहरूको संख्या करिब १ हजार ५ सय जना रहेको छ । तर छिमेकी मुलुक भारतलगायत तेस्रो मुलुकबाट त्यहाँ पुग्नेहरूको संख्यासहित हाल अफगानिस्तानमा कति जना नेपाली छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन ।

त्यहाँ कार्यरत नेपाली कामदारहरूको भनाइअनुसार वैधानिक र अवैधानिक रूपमा गरी हाल अफगानिस्तानको विभिन्न ठाउँमा करिब १४ हजार नेपाली रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *