Main News

काबुलबाट १ सय १८ जना नेपाली काठमाडौं आइपुगे (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १ गते २०:५८
काबुलबाट १ सय १८ जना नेपाली काठमाडौं आइपुगे (भिडियो रिपोर्टसहित)

१ भदौ २०७८ काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी राजदूतावासमा सुरक्षा गार्डको रूपमा कार्यरतमध्ये १ सय १८ जना नेपाली काठमाडौं आइपुगेका छन् । उनीहरुलाई अमेरिकी सरकारले काबुलबाट उद्धार गरेर कतार हुँदै नेपाल ल्याएको हो ।

अफगानिस्तानमा रहेका नेपालीबारे चिन्ता र चासो बढिरहँदा १ सय १८ जना आज स्वदेश फर्किएका छन् ।

उनीहरुले जतिखेर अफगानिस्तान छाडे त्यतिबेला त्यहाँको माहोल बिग्रदै थियो । तालिवानले अफगानिस्तान कब्जा गरेपछिको त्रासपूर्ण माहोलबाट सुरक्षित रुपमा स्वदेश फर्कन पाउँदा उनीहरु खुसी छन् ।

अफगानिस्तानमा तालिवानले कब्जा जमाएपछि अहिले अन्योलको वातावरण छ । २० वर्षअघि शासनमा रहँदा तालिबानले निक्कै आतंक मच्चाएको थियो । तर अहिले अफगानिस्तान कब्जा गरे पनि तालिबानले पहिलेको जस्तो क्रुर व्यवहार देखाएको छैन ।

सरकारी तथ्यांक अनुसार अफगानिस्तानमा १५ सय नेपाली छन् । तर अबैधानीक रुपमा त्यहाँ पुगेकाको संख्या निकै धेरै रहेको अनुमान छ ।

संयुक्त राष्ट्रसंघ, अमेरिका, वेलायत लगायतका देशका दूतावासमा कार्यरत नेपाली अहिले सुरक्षित छन् । तर आफूखुसी अफगानिस्तान पुगेका र अनौपचारिक क्षेत्रमा गरिरहेका भने समस्यामा पर्ने सम्भावना छ । त्यसैले राज्यले उनीहरुलाई समयमै स्वदेश फर्काउन पहल गरोस् भन्ने स्वदेश फर्किएकाको चाहना छ ।

नेपाल आइपुगेकालाई नेपाली सेनाले बनाएको क्वारेन्टिनमा राखिएको छ । उनीहरुलाई घरसम्म पठाउने व्यवस्था सरकारले नै गर्ने छ। नेपालीसँगै आएका ९ जना भारतीय नागरिकलाई दिल्ली पठाइनेछ। अफगानिस्तानबाट उद्धारका लागि थप डेढसय जना नेपालीले विवरण टिपाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *