Main News

‘गलत र एकपक्षीय’ निर्णय फिर्ता लिएमा एकता सम्भव : नेता नेपाल

हिमालय टिभी
२०७८ भदौ १ गते १८:५१
‘गलत र एकपक्षीय’ निर्णय फिर्ता लिएमा एकता सम्भव : नेता नेपाल

१ भदौ २०७८ काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र आन्तरिक एकताका लागि आफूहरु सधै‌ तत्पर रहेको र यो प्रयास नयाँ पार्टी खुलेको स्थितिमा पनि जारी रहने बताउनुभएको छ ।

पार्टीको आफू निकट जनसङ्गठनका पदाधिकारीलाई आज भर्चुअल सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले यसबीचमा गरेका कतिपय ‘गलत र एकपक्षीय’ निर्णय फिर्ता लिएमा एकता सम्भव हुने अन्यथा नयाँ पार्टीमार्फत वामपन्थी आन्दोलनको झण्डालाई फहराइने स्पष्ट गर्नुभयो ।

उहाँले सही कार्यदिशामा आउन तयार भएमा अहिले एकता सम्भव नभए निर्वाचनमा तालमेल वा निर्वाचनपछि पनि सहकार्य र एकताको सम्भावना सधै‌ रहने बताउनुभएको हो । उहाँले आफ्ना कार्यकर्तालाई एमालेको सदस्यता नवीकरण र समानान्तर गतिविधिमा सक्रिय हुन पनि आग्रह गर्नुभयो ।

आजै आफूले उपमहासचिव घनश्याम भुसालको प्रस्तावमा एकताका लागि विकल्पबारे छलफल गर्न अध्यक्ष ओली पक्षसँग पठाएको जानकारी दिँदै त्यसको प्रगति भइनसकेको बताउनुभयो । उहाँले पार्टीले आफूसहित १४ जना प्रतिनिधिसभा सदस्यलाई पदमुक्त गर्न सङ्घीय संसद् सचिवालयमा सिफारिस गरेको सुनिएकोमा विरोध गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *