काबुलमा अलपत्र परेका नेपालीलाई पाकिस्तानबाट स्वदेश फर्काउन सहमति
१ भदौ २०७८ काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा अलपत्र नेपालीलाई पाकिस्तानबाट स्वदेश फर्काइने भएको छ ।
अहिले अफगानिस्तानमा अन्तर्राष्ट्रिय उडान सञ्जाल अवरुद्ध भएकाले काबुलमा रहेका नेपालीलाई अफगान–पाक स्थलमार्गबाट स्वदेश फर्काउन सहमति भएको इस्लामावादस्थित नेपाली राजदूत तापस अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार अफगानिस्तानको जलालावाददेखि पाकिस्तानको तोरखाम बोर्डरसम्म आउने विषयमा समन्वयका लागि पाकिस्तानको विदेश मन्त्रालयका अधिकारीसँग कुराकानी भएको छ ।
नेपालीसहित विदेशी अरू नागरिकका हकमा मान्य हुने गरी तत्काल अनअराइभल भिसा दिइने र भिसाको पैसासमेत मिनाहा गर्न सकिने प्रबन्ध तय भएको उहाँले जानकारी दिनुभयो ।
जलालावाद–तोरखाम ७० किलोमिटरको दूरीमापर्छ । त्यहाँबाट पेसावर वा रावलपिन्डी पुगेपछि इस्लामाबाद–काठमाडौंको उडानबाट नेपालीहरूलाई स्वदेश फर्काउने बारेमा पनि कुराकानी भएको जनाइएको छ ।
प्रतिक्रिया