दार्चुला तुइन प्रकरण छानबिन समितिले अझै बुझाउन सकेन प्रतिवेदन
१ भदौ २०७८ काठमाडौं । भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता घटना छानबिनका लागि बनाइएको समितिको दोस्रो म्याद पनि आज सकिँदैछ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिँदा दार्चुलाको ब्यास गाउँपालिका–२, मालगाउँका ३० वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । घटनाबारे छानबिन गर्न गठित टोलीले दोस्रो म्याद सकिने दिनसम्म पनि प्रतिवेदन बुझाउन सकेको छैन ।
गृहमन्त्री बालकृष्ण खाँणले सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन टोली गठन गर्दै १० दिनको समय दिनुभएको थियो । घटनास्थलमा पुगेर अध्ययन गरेको टोलीलाई समय अभाव भएपछि थप सात दिनको म्याद दिइएको थियो । थपिएको समय आज सकिन लागेको हो ।
समितिका संयोजक गौतमले भने प्रतिवेदनका विषयमा छलफल भइरहेकाले आज प्रतिवेदन बुझाउन नसकेमा म्याद थपका लागि आग्रह गर्ने बताउनुभयो ।
अनुसन्धान, सूचना र तथ्य संकलन जारी रहेको अवस्थामा ठोस विश्लेषणका लागि समय लाग्न सक्ने गौतमले बताउनुभयो । छानबिन टोलीको नेतृत्व गरेका गृह मन्त्रालयका सहसचिव गौतम अहिले काठमाडौंमा हुनुहुन्छ ।
टोलीका अन्य सदस्य भने सुदूरपश्चिममै छन् । टोलीले अझै सूचना र तथ्य संकलन गरिरहेको र त्यो काम सकिएपछि प्रतिवेदन तयार पारिने संयोजक गौतमले बताउनुभयो ।
जयसिंह धामीको खोजीलाई प्राथमिकता दिएकाले पनि प्रतिवेदन तयार गर्न ढिला भएको गौतमको दाबी छ ।
प्रतिक्रिया