Main News

विशिष्ट साधकलाई आजीवन र मानार्थ प्राज्ञ सदस्यता प्रदान

हिमालय टिभी
२०७८ भदौ १ गते ६:४१
विशिष्ट साधकलाई आजीवन र मानार्थ प्राज्ञ सदस्यता प्रदान

१ भदौ २०७८ काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले लामो समयदेखि नेपाली साहित्यअन्तर्गत कविता, काव्य र समालोचनाका साथै भाषा, दर्शन, सामाजिक शास्त्र आदि विषय क्षेत्रमा सिर्जना, अनुसन्धान र प्राध्यापनका माध्यमबाट विशिष्ट योगदान गरेका वरिष्ठ साहित्यकार आनन्ददेव भट्टलाई आजीवन सदस्यताको सम्मानपत्र अर्पण गरेको छ ।

प्रतिष्ठानले विगत सात दशकदेखि साधनारत रही नेपाली साहित्यअन्तर्गत निबन्ध/नियात्रा, कथा र उपन्यास सिर्जना तथा समालोचनाका साथै भाषा–व्याकरणका क्षेत्रमा अध्ययन/अनुसन्धान, सम्पादन एवं प्रकाशनका माध्यमबाट विशिष्ट योगदान गर्नुभएका वरिष्ठ साधक डा तारानाथ शर्मालाई र नेपाली कविता/काव्य साहित्यका क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि साधनारत रही विशिष्ट योगदान गर्नुभएका वरिष्ठ कवि नरेश शाक्य (नरेशकुमार शाक्य)लाई आजीवन सदस्यताको सम्मानपत्र अर्पण गरेको छ । सोमबार प्रज्ञा भवनमा आयोजित आजीवन तथा मानार्थ प्राज्ञ सदस्यताको सम्मान अर्पण कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त सम्मानको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

सो अवसरमा विगत छ दशकभन्दा लामो समयदेखि संस्कृत वाङ्मयका विभिन्न क्षेत्रका साथै नेपालको इतिहास, संस्कृति, दर्शन, शिक्षा, भाषा–व्याकरण र साहित्यलगायतका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रामाणिक अध्ययन, अनुसन्धान र प्राध्यापनका माध्यमबाट विशिष्ट योगदान गर्नुभएका डा महेशराज पन्त, विगत चार दशकभन्दा लामो समयदेखि सामाजिक शास्त्र विषयअन्तर्गत कानुन, मानवअधिकार, सुशासन, कूटनीति आदि विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अध्ययन, अनुसन्धान, प्राध्यापन, परामर्श आदिका माध्यमबाट विशिष्ट योगदान गर्नुभएका प्रा डा सूर्य सुवेदी र दर्शनशास्त्रका क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि साधनारत रही अध्ययन/अनुसन्धान, प्रकाशन र प्राध्यापनका माध्यमबाट विशिष्ट योगदान गर्नुभएका वरिष्ठ दर्शनशास्त्री प्रा डा वीरेन्द्रप्रसाद मिश्रलाई मानार्थ प्राज्ञ सदस्यताको सम्मानपत्र अर्पण गरिएको थियो ।

कार्यक्रममा कुलपति उप्रेतीले विगतमा आजीवन तथा मानार्थ प्राज्ञ सदस्यलाई एउटा पत्र मात्रै दिइँदै आएकामा अबदेखि समारोह नै आयोजना गरेर माला र दोसल्लासहित सम्मानपत्र अर्पण गरी सम्मानित गर्ने परम्पराको सुरुआत गरिएको बताउनुभयो ।

प्रज्ञा भवनमा आयोजित कार्यक्रम समापनपश्चात कुलपति उप्रेतीले सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्य प्रा डा हेमनाथ पौडेल र प्राज्ञसभा सदस्य एवं सञ्चार तथा डायास्पोरा संयोजक शशि लुमुम्बूसहित चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचाररत रहनुभएका वरिष्ठ साधक भट्ट र चाबहिलस्थित निजी निवासमा आराम गरिरहनुभएका वरिष्ठ साधक डा शर्मालाई सोही स्थानमा गएर सम्मान अर्पण गर्नुभएको थियो । उक्त अवसरमा कुलपति उप्रेतीले उहाँहरूको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *