अफगानिस्तानमा समस्यामा परेका नेपाली तत्काल फर्काउन एमाले सांसदको माग (भिडियो रिपोर्टसहित)
३२ साउन २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई तुरुन्त स्वदेश फिर्ता गराउन सरकारसमक्ष माग गरेको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा शुन्य समय अघि नै बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसद गोकुल प्रसाद बाँस्कोटाले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा भइरहेका राजनीतिक संघर्षका कारण अलपत्र परेका नेपालीहरुलाई तत्काल स्वदेश फर्काउन माग गर्नुभएको हो ।
वर्तमान सरकारले अफगानिस्तानमा संकटमा परेका नेपालीलाई आफ्नो देश छ र देशमा सरकार छ भन्नेकुराको अनुभूति गराउन नसकेको पनि उहाँले बताउनुभयो । सरकारको नेपालीलाई फर्काइनेछ भन्ने प्रतिवद्धताले नपुग्ने भन्दै उहाँले त्यहाँ रहेका नागरिक सुरक्षित छन् र सुरक्षित फर्काइने छ भन्ने प्रतिवद्धतासँगै कार्यान्वयन पनि हुनुपर्ने बताउनुभयो ।
सांसद बाँस्कोटाले नेपाल सार्क मुलुकको अध्यक्ष भएको नाताले अफगानिस्तानको घटनाप्रति सरकारको दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले अफगानिस्तानको राजनीतिक घटनाको सम्बन्धमा सरकारले आफ्नो दृष्टिकोण सदनमा स्पष्ट पार्न पनि माग गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘अफगानिस्तानको घटना के हो ? क्रान्ति हो ? प्रतिक्रान्ति हो ? हिंसा हो ? आक्रमण हो ? प्रत्याक्रमण हो ? हस्तक्षेप र प्रतिहस्तक्षेपका अनन्त श्रृङ्खलाहरुले थिलथिलो र खलबल्लिइरहेका त्यहाँको जनताको सुख, समृद्धि लोकतन्त्र आदी माथिको समस्या हो ? के हाम्रो देशको कुनै राष्ट्रिय, अन्तर्राष्ट्रिय र हाम्रो परराष्ट्रको कुनै दृष्टिकोण छैन ? हामी यो जान्न चाहान्छौँ सरकारले यस विषयमा सदनलाई स्पष्ट पार्नको निम्ति रुलिङ होस् भनेर माग गर्न चाहान्छौँ ।’
उहाँले अफगानिस्तानको घटनाबाट वैदेशिक हस्तक्षेपहरु कुनैपनि स्वाधिन राष्ट्रको लागि कामयावी हुँदैनन् र अर्थहिन हुन्छन् भन्नेकुरा सिक्नुपर्ने बताउनुभयो । कुनैपनि देशमा बलियो राष्ट्रवादी शक्ति, दलहरु वा राष्ट्रिय शक्तिको निर्माण हुनुपर्दछ भन्ने देखिएको पनि उहाँले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया