Main News

उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

हिमालय टिभी
२०७८ साउन ३२ गते १५:५४
उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

३२ साउन २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीलाई आग्रह गर्नुभएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को ३४ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले उत्पादनमुखी काम गर्न आग्रह गर्नुभएको हो । बचत तथा ऋण सहकारीहरुले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको आफूले सुनेको भन्दै मन्त्री शर्माले साध्नुभयो, “तपाईहरुको लगानी केमा केन्द्रित छ ? घर जग्गा वा गाडी खरिदमा हो भने त्यसको कुनै अर्थ छैन ।”

उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको भन्दै मन्त्री शर्माले त्यसमा सहयोग गर्न सहकारीहरुलाई आग्रह गर्नुभयो । “तपाईहरुका कुनै समस्या छन र मैले निर्णय गरेर हुन्छ भने त्यसको लागि म तयार छु”, मन्त्री शर्माले भन्नुभयो, “तपाईहरुले पनि उत्पादनको क्षेत्रमा लगानी बढाउनुस् । कम्तीमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउनुस् । गरिबी निवारणमा सहयोग गर्नुस् ।”

सहकारीले गरिब जनताले लिएको ऋणमा १८ प्रतिशतसम्म ब्याज लिने गरेको सुन्नमा आएको भन्दै उहाँले त्यसलाई घटाउनुपर्ने बताउनुभयो । कतिपय सहकारीले जनताको पैसा ठगेर उठिबास लगाएका घटना देखिएको भन्दै मन्त्री शर्माले त्यसतर्फ नेफ्स्कुनले ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले सहकारीका संस्थापकले नै जनताको सम्पत्ति हिनामिना गर्ने क्रमलाई रोक्न नेफ्स्कुनले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । अहिलेसम्म स्थिरीकरण कोष खडा नभएको प्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले एक महिनाभित्र खडा गरेर आफूलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घमा चार हजार प्रारम्भिक संस्था तथा प्रदेश र जिल्ला बचत सङ्घमार्फत ७ हजार भन्दा बढी बचत तथा ऋण सहकारी संस्था आवद्ध रहेका छन् । देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीमा ३४ लाख व्यक्तिगत सदस्य आवद्ध रहेको नेफ्स्कुनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *