Main News

साप्पाटाको छुद्दरीमा सुक्खा पहिरो, डेढ सय परिवार उच्च जोखिममा

हिमालय टिभी
२०७८ साउन ३२ गते ८:३४
साप्पाटाको छुद्दरीमा सुक्खा पहिरो, डेढ सय परिवार उच्च जोखिममा

३२ साउन २०७८ मार्तडी । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटाको छुद्दरी गाउँमा सुक्खा पहिरो जान थालेको छ ।

पहिरोले कर्णाली नदी थुनिने खतरा बढेको छ । पानी नपरेको समयमा पनि लगातार सुक्खा पहिरो बग्न थालेपछि कर्णाली नदी थुनिने खतरा बढेको स्थानीयवासीले बताएका छन् ।

गाउँपालिकाको रुणी गाउँको तल्लो भाग र छुद्दरी गाउँको नजिकै रहेको भिरमा लगातार सुक्खा पहिरो खस्न थालेको हो । गाउँको मुनिबाट दुई दिनदेखि निरन्तर पहिरो खस्न थालेको जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताउनुभएको छ ।

जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारिपट्टि रहेको भिरमा पहिरो खस्न थालेपछि नदी थुनिने खतरासँगै गाउँपालिका केन्द्रमा समेत जोखिम बढेको छ । कर्णाली नदीमा ढुङ्गा, माटो जम्मा हुने थालेको छ ।

लगातार दुई दिनदेखि पहिरो आउने क्रम जारी रहेकाले जुड्डी आसपासका क्षेत्रमा जोखिम बढेको छ । पहिरोका कारण रूणी गाउँका १५० घरधुरी उच्च जोखिममा रहेको स्थानीयवासी नन्दबहादुर खत्रीले बताउनुभयो ।

जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारिपट्टिबाट लगातार पहिरो बगेका कारण कर्णाली नदी थुनिएमा गाउँपालिकाको कार्यालय र सोही क्षेत्रमा रहेको प्रहरी चौकीसमेत जोखिममा रहने गाउँपालिकाका रोजगार संयोजक जोशीले राससलाई बताउनुभयो ।

उहाँका अनुसार सुक्खा पहिरो बग्दा ठूला ढुङ्गा आउने गरेकाले सोही ढुङ्गाले नदी थुनिने जोखिम बढेको छ । पहिरो खतरा नै भइनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *