राजनीति

एक महिनासम्म मन्त्रिपरिषदले किन पाएन पूर्णता ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २९ गते २१:१६
एक महिनासम्म मन्त्रिपरिषदले किन पाएन पूर्णता ? (भिडियो रिपोर्टसहित)

२९ साउन २०७८ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको आज एक महिना पूरा भएको छ । तर एक महिनासम्म पनि सरकार विस्तार हुन सकेको छैन । आफ्नै सचिवालयसमेत गठन गर्न नसकेपछि प्रधानमन्त्रीकै कार्यक्षमतामाथि प्रश्न उठेको छ ।

शेरबहादुर देउवा प्रधानमन्त्री बनेको आज एक महिना पुग्यो । असार २९ गते देउवा प्रधानमन्त्री नियुक्त हुँदा सत्ता गठबन्धन निकै उत्साहित थियो । आफूलाई अग्रगामी भन्दै संविधान र लोकतन्त्र जोगायौं भन्दै अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीमाथि निशाना पनि साँध्यो ।

तर महिना दिन बित्दै गर्दा सत्तारुढ गठबन्धनमा न उत्साह छ न कुनै अग्रगामी मार्ग चित्र । मन्त्रिपरिषद विस्तार मात्रै होइन, भागबण्डासमेत गर्न नसकेर सत्ता गठबन्धन अलमलमा छ । मन्त्रिपरिषदले पूर्णता पाउन नसकेपछि प्रमुख प्रतिपक्ष एमालेले प्रधानमन्त्रीको कार्यक्षमतामै प्रश्न उठाउन थालेको छ ।

प्रधानमन्त्री देउवाको नेतृत्वमा अहिले ४ मन्त्री र एक राज्यमन्त्री छन् । असार २९ मै देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ऊर्जामन्त्रीमा पम्फा भूसालले शपथ लिनुभएको थियो । पछि उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाइयो ।

अहिले १७ वटा मन्त्रालयको भारी प्रधानमन्त्री देउवाकै काँधमा छ । संविधानतः बढीमा २५ सदस्यीय मन्त्रिपरिषद गठन हुनसक्छ । मन्त्रिपरिषदले पूर्णता पाउन अझै १९ जना सदस्य थप्नुपर्छ । एकातिर गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेको छैन भने अर्कोतिर सबै दलभित्र आन्तरिक किचलो उत्कर्षमा छ । साउन १९ गतेको प्रचण्डको अभिव्यक्तिले त्यसलाई प्रष्ट पार्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको दल नेपाली कांग्रेसमा पनि किचलो छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सम्मान जनक स्थान नपाए जे गर्ने हो गरे हुन्छ, हामीलाई चाहिएन भनेर देउवालाई भन्न भ्याइसकेको छ । जनता समाजवादी पार्टी भित्र पनि मन्त्री छान्न सकस छ ।

अध्यक्ष उपेन्द्र यादवलाई पहिले आफूलाई साथ दिने र पछि महन्थ ठाकुरलाई छोडेर आउने को को लाई मन्त्री बनाउने भन्ने संकट छ । मन्त्री छान्न जसपाले भदौ १ र २ गते बैठक बोलाएको छ । सरकार विस्तारमा ढिलाइ हुनुमा नेकपा एमालेको नेपाल खनाल समूह पनि अर्को कारण देखिएको छ ।

यो सरकार बनाउन र संसद पूनस्थापना गर्न अहम भूमिका खेलेको नेपाल खनाल समूह अहिले न ओलीसँग मिल्ने न त्यहाँबाट अलग हुने अवस्थाबाट गुज्रिरहेको छ । यो अवस्थामा एमाले फुटाएर नेपाल–खनाल समूहलाई सरकारमा लैजान कांग्रेस र माओवादी केन्द्रले जोड गरिरहेका छन् ।

नेपाल–खनाल समूहमा सरकारमा जाने र नजाने दुई धार देखिएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा पनि नेपाल खनाल समूहकै कारण मन्त्रिपरिषद विस्तारमा ढिलाइ भइरहेको दाबी गर्नुहुन्छ ।

मन्त्रिपरिषदले पुर्णता पाउन नसकेपछि प्रधानमन्त्रीको आलोचना पनि बढ्दै गएको छ । ओली सरकार हटाएर हामी जनमुखी काम गर्छौं भन्नेहरुको दावी खोक्रो देखिन थाल्यो भन्ने टिप्पणी सुनिन थालेका छन । त्यसैले मन्त्रिपरिषद विस्तार कहिले गर्ने हो भनेर सत्तापक्षबाटै प्रश्न उठाउन थालिएको छ ।

संयुक्त सरकारको साझा न्यूनतमकार्यक्रम सार्वजनिक गर्नेबाहेक यो अवधिमा सत्ता गठबन्धनले उल्लेख्य काम गर्न सकेको छैन । मन्त्रिपरिषदले पूर्णता नपाएकाले सरकारका धेरै काम प्रभावित भएका छन् ।

आन्तरिक कारण जे भए पनि आम नागरिकको सरोकारको विषय होईन । जनतालाई पूर्ण र गतिशील सरकार चाहिएको छ । जुन अहिले देखिएको छैन । प्रधानमन्त्री देउवाले अहिलेसम्म आफ्नो सचिवालय समेत बनाउन सक्नुभएको छैन । प्रधानमन्त्रीको यो अकरमण्यता जति लम्बिन्छ सरकारको आलोचना पनि बढ्दै जाने प्रष्ट छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्