Main News

पोखरेल नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट संशोधनको तायारी

हिमालय टिभी
२०७८ साउन २९ गते १३:२६
पोखरेल नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट संशोधनको तायारी

२९ साउन २०७८ बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले शंकर पोखरेल नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट संशोधन गरेर नयाँ ल्याउने बताउनुभएको छ ।

मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै केसीले नयाँ सरकार आएपछि अघिल्लो सरकारको बजेट र नीति तथा कार्यक्रम संशोधन स्वाभाविक हुने बताउनुभयो ।

केन्द्रमा केपी ओलीले जस्तै प्रदेशमा शंकर पोखरेलले पनि संसदबाट भागेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक काम गरेकाले लोकतन्त्र र संसदीय पद्धतिलाई सही ट्रयाकमा ल्याउन पनि नयाँ बजेट ल्याइने केसीले बताउनुभयो ।

सरकारले तत्कालै नियमित अधिवेशन बोलाएर विश्वासको मत लिने मुख्यमन्त्री केसीले जानकारी दिनुभयो । माओवादी केन्द्रका नेता केसी हिजो लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । लगत्तै सात सदस्यीय मन्त्रिपरिषद गठन गरिएको छ ।

यसैबीच मुख्यमन्त्री केसीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा अमर बहादुर डाँगीलाई नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीको शपथग्रहण लगत्तै हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले डाँगीलाई मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा नियुक्त गरेको हो।

सहायक राज्यमन्त्रीस्तरको सेवा सुविधा पाउने गरी डाँगीलाई मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको छ । नेकपा एमालेका तत्कालीन सांसद डाँगीले केसीको सरकार बनाउन सहयोग पुग्ने गरी गत वैशाख २२ गते पदबाट राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *