लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित सात मन्त्रीले लिए शपथ (भिडियो रिपोर्टसहित)
२८ साउन २०७८ बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र ६ जना मन्त्रीले शपथ लिएका छन् ।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसी सोनाम र मन्त्रीहरुलाई शपथ गराउनुभयो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसी मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
मन्त्रीपरिषद्माी कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, फूलमति ढेंगा र सुमन शर्मा रायमाझी तथा अजय शाही मन्त्री हुनुभएको छ ।
चौधरी शहरी तथा ग्रामीण विकास, कृष्णध्वज खड्का आन्तरिक मामिला तथा कानुन र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री हुनु भएको छ । अरु मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन ।
लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका ६ सांसदमध्ये शंकर पोखरेलको मन्त्रिपरिषदमा सहभागी भएको भन्दै पार्टीले निष्कासन गरेपछि अब ३ जना मात्र सांसद बाँकी छन् ।
सांसद रायमाझी पहिले पोखरेलको मन्त्रिपरिषदमा सहभागी भए पनि राजीनामा दिएर बाहिरिनु भएको थियो । स्वतन्त्र राजनीतिक समूहको नामबाट सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा विजयी भएका लुम्बिनी प्रदेशसभामा दुई सांसद छन् ।
यो समूहले यसअघि पोखरेल नेतृत्वको सरकारलाई साथ दिएको थियो र सांसद धर्मबहादुर लाल श्रीवास्तव सरकारमै सहभागी हुनु भएको थियो । अहिले यही समूहका अर्का सांसद शाही केसी नेतृत्वको मन्त्रिपरिषदमा सहभागी हुनुभएको छ ।
मुख्यमन्त्री पोखरेलले हिजो राजीनामा लिएपछि चार दलीय गठबन्धनले आज केसीलाई मुख्यमन्त्री प्रस्ताव गरी दाबी पेश गरेको हो ।
राष्ट्रिय जनमोर्चा गठबन्धनमा सहभागी भए पनि सरकारमा सहभागी भएको छैन । ८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्य मात्र कायम छन् ।
गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन् । अल्पमतमा परेको एमालेमा ३७ जना छन्।
नवलपरासी पश्चिमबाट सूर्य चिन्ह लिएर स्वतन्त्रबाट निर्वाचित सांसद अजय शाही ४ दलको गठबन्धनमा खुलेपछि गठबन्धनमा सांसद संख्या भने ४३ पुगेको हो ।
प्रतिक्रिया