राजनीति

को हुन् लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २८ गते २०:३५
को हुन् लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ? (भिडियो रिपोर्टसहित)

२८ साउन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीबाट तेस्रो मुख्यमन्त्रीको रुपमा लुम्बिनी प्रदेशको नेतृत्व पाएको छ ।

लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले आज मुख्यमन्त्रीको शपथ लिनुभएको छ । माओवादी सशस्त्र युद्धका बेला नेतृत्वदायी भूमिकामा रहेका केसी अहिले नेपाली कांग्रेसको सहयोगमा मुख्यमन्त्री बन्नुभएको छ ।

माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री हुँदा गजब्बको संयोग पनि परेको छ । कांग्रेसकै कारण शिक्षकको जागिर गुमाएका केसीले कांग्रेसकै सहयोगमा मुख्यमन्त्री जस्तो राजकीय पद पानुभएको छ ।

०४९ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कालो झण्डा देखाएकै कारण उहाँले शिक्षकको जागिर गुमाउनु परेको थियो । तर तीन दशकपछि उहाँ कांग्रेसकै काँध चढेर ठूलो जिम्मेवारीमा आउनुभएको छ ।

रोल्पा नगरपालिका–६ जिवाङमा २०२७ साल माघ १० जन्मिएका केसी२०४३ सालमा कक्षा ७ मा पढ्दादेखि नै मसालको विद्यार्थी संगठन अनेरास्ववियुको सदस्यता लिएर राजनीतिमा सक्रिय हुनुभयो ।

र, ४६ सालमा अखिलको जिल्ला सचिव बन्नुभयो । जनयुद्धकै समयदेखि तत्कालीन माओवादीमा क्रियाशील मुख्यमन्त्री केसी पार्टी भित्र सोनामका नामले चिनिनुहुन्छ ।

माओवादी जनयुद्ध सुरु भएसँगै केसी भूमिगत राजनीतिक जीवनमा प्रवेश गर्नुभयो । भूमिगत हुनुअघि पार्टीको रोल्पा जिल्ला सदस्य रहेका केसी भूमिगत राजनीतिक जीवनका क्रममा भने छिटै फड्को मार्ने नेता मध्ये एक हुनुहुन्छ ।

२०५५ सालमा केसीले नेपाल कम्युनिष्ट पार्टी माओवादीको दाङ, प्युठान र सल्यान जिल्ला सेक्रेटरीका रुपमा जिम्मेवारी पाउनुभयो । २०५६ सालमा भेरी–कर्णाली क्षेत्रीय ब्यूरो सदस्य भएका केसी केन्द्रीय सदस्य हुँदै ०५७ सालमा पार्टीको पोलिटब्यूरो बन्नुभयो ।

उहाँ तत्कालीन जनमुक्ति सेनाको कम्पनी कमिसार पनि हुनुभयो । २०५९ सालदेखि पोलिटब्यूरो सदस्य र बागमती–नारायणी ब्यूरो इन्चार्जको भूमिकामा रहेका केसी २०६० मा भारतको पटनाबाट गिरफ्तार भएर २०६३ साउनमा रिहा हुनुभयो । २०६३ देखि ६८ सालसम्म केसी जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसारका साथै विभिन्न ब्यूरो इन्चार्ज हुनुभयो ।

उहाँले योङ्ग कम्युनिष्ट लिगको केन्द्रीय इन्चार्ज तथा सेना समायोजन समितिको सदस्यका रुपमा पनि काम गर्नुभयो । माओवादी विभाजन भएपछि केही समय केसी मोहन वैद्य नेतृत्वको माओवादी क्रान्तिकारीमा आवद्ध हुनुभयो ।

दोस्रो संविधानसभा चुनाव बहिष्कार अभियानमा वैद्यसँगै लाग्नुभयो । तर रामबहादुर थापा ‘बादल’सँगै फेरि माओवादी केन्द्रमै फर्किनुभयो । बादल अहिले एमालेमा लागेका लागपनि केसी प्रचण्डको साथमा हुनुहुन्छ ।

२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा रोल्पा क बाट निर्वाचित केसी त्यसपछि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिलामन्त्री हुनुहुन्थ्यो । तर पार्टी विभाजन र मतभेद बढेपछि माओवादी सरकारबाट बाहिरिएको थियो । र, कांग्रेससितको सहकार्यमा चार महिना अघिनै केसीलाई मुख्यमन्त्री प्रस्ताव गरिएको थियो ।

केसी आक्रामक स्वभावको नेता हुनुहुन्छ । प्रदेश सभामै यस्ता व्यवहार देखिने गरेका थिए । दाङलाई प्रदेशको स्थायी राजधानी बनाउने विषयमा प्रदेशसभा बैठकमा निर्णय हुँदै गर्दा आन्तरिक मामिला तथा योजना मन्त्री रहेका केसीले विपक्षी सांसदलाई ‘घिसारेर बाहिर निकाल्’ भन्दै मर्यादापालकलाई आदेश दिनु भएको थियो ।

प्रायः उग्र र कतिपय अवस्थामा अमर्यादित सार्वजनिक अभिव्यक्ति दिने केसीको बानीले अप्ठ्यारोमा पार्ने गरेको पार्टी भित्रै पनि चर्चा हुने गरेको छ । आठ महिना सरकारको जिम्मा पाएका केसीले आफ्नो छवि सुधारेर काम गर्नुहुन्छ कि हुन्न हेर्न बाँकी छ ।

भिडियो रिपोर्ट हेर्नका लागि यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्