१४औं महाधिवेशनको मिति सार्ने विषयमा कांग्रेस शीर्ष नेताबीच सहमति
२८ साउन २०७८ काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच पार्टीको १४ औं महाधिवेशन सार्ने सहमति भएको छ ।
हिजो प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्षसहित महाधिवेशन सार्ने सहमति गरेको हो ।
महाधिवेशन कहिलेसम्म सार्ने भन्ने विषयमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले फरकफरक प्रस्ताव अघि सार्नु भएको छ । देउवा पक्षबाट महामन्त्री पूर्णबहादुर खड्काले आगामी मंसिरसम्म महाधिवेशन सार्ने गरी नयाँ कार्यतालिका ल्याउने प्रस्ताव गर्नु भएको छ ।
तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले असोजमै महाधिवेशन गर्ने गरी भदौभित्र वडा अधिवेशन सुरु गर्ने नयाँ कार्यतालिका बनाउनुपर्ने प्रस्ताव राख्नु भएको छ । नेता मीनेन्द्र रिजालले नयाँ कार्यतालिका ल्याउने सहमति भए पनि वडा अधिवेशन कहिलेदेखि शुरु गर्ने भन्नेबारे समझदारी नभएको बताउनुभयो ।
यस विषयमा समझदारी जुटाउन केन्द्रीय कमिटी बैठकअघि शीर्ष नेताबीच छलफल हुनेछ । आज बस्ने केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गर्ने पूर्वनिर्धारित एजेण्डा छ ।
क्रियाशील सदस्यताको विवाद टुङ्ग्याएर मात्र सोहीअनुसार नयाँ कार्यतालिका ल्याउनुपर्ने पौडेलको भनाइ छ । निर्वाचन समितिले क्रियाशील सदस्यको सूची प्राप्त गरेको ५६ दिनमा वडा अधिवेशनदेखि महाधिवेशन गर्न सकिने बताएको छ ।
वडामा क्रियाशील सदस्यताको सूची पाएको २० दिनपछि मात्र वडा अधिवेशन गर्न सकिने समितिको ठहर छ । अहिलेसम्म ७७ वटै जिल्लाका लागि निर्वाचन अधिकृत तोक्ने काम पनि हुन सकेको छैन ।
प्रतिक्रिया