नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

Himalaya Television
२०७८ साउन २७ गते ७:४६

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

२७ साउन २०७८ काठमाडौं । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।

सदाका लागि लोडसेडिङ अन्त्य गरेका घिसिङलाई मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्त गरेको हो ।

घिसिङले आज नियुक्ति पत्र बुझेर पदबहाली गर्दैहुनुहुन्छ । प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणीमा बढुवा गरी जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

उहाँलाई अहिले खाइपाई आएको सुविधामा नघट्ने गरी पूर्णकालीन रूपमा आयोगमा पदस्थापन गरिएको हो ।

ऊर्जामन्त्रीको अध्यक्षतामा हुने आयोगमा राष्ट्रिय योजना आयोगका सदस्य, विभिन्न मन्त्रालयका सचिवहरू, सरकारले नियुक्त गरेका दुईजना विशेषज्ञहरू, इन्जिनियरिङ अध्ययन संस्थानका डिन, नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि सदस्यका रूपमा रहन्छन् ।

यी कुनै पनि सदस्यले आयोगबाट तलब पाउँदैनन् । तर, शाक्यलाई भने पूर्णकालीन तलबी सदस्यका रूपमा पदस्थापन गर्न सरकारले नियमावली नै स्वीकृत गरेको बुझिएको छ ।

ऊर्जामन्त्री पम्फा भुसालको पहलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउन प्रस्ताव गर्नु भएको थियो ।

त्यही अनुसार मन्त्री भुसालले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्कोमा लैजानु भएको थियो । कुलमान चार वर्ष विद्युत् प्राधिकरणमा काम गरेर ०७७ भदौ २८ मा बिदा हुनुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *