Main News

सरकारी कोष १ खर्ब ४३ अर्ब घाटामा, तीन वर्षमा २ सय ५० प्रतिशतले बढ्यो सार्वजनिक ऋण

हिमालय टिभी
२०७८ साउन २६ गते १७:०४
सरकारी कोष १ खर्ब ४३ अर्ब घाटामा, तीन वर्षमा २ सय ५० प्रतिशतले बढ्यो सार्वजनिक ऋण

२६ साउन २०७८ काठमाडौं । सरकारले आज मुलुकको आर्थिक अवस्था समेटेर श्वेतपत्र सार्वजनिक गरेको छ ।

प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले स्वेतपत्र सार्वजनिक गर्दै सरकारी कोष अहिले करिब डेढ खर्ब रुपैयाँले घाटामा रहेको जानकारी दिनुभयो ।

देशको सार्वजनिक ऋण उल्लेख्य रुपमा वृद्धि हुँदै गए पनि देशको आर्थिक वृद्धि तथा विकासमा अपेक्षित प्रतिफल हासिल हुन नसकेको अर्थमन्त्री शर्माले बताउनुभयो । उहाँका अनुसार अहिले देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा छ ।

अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७७–७८ मा आन्तरिक दुई खर्ब २४ अर्ब र वैदेशिक एक खर्ब ४० गरी जम्मा तीन खर्ब ६४ अर्ब रुपैयाँ ऋण परिचालन भएको जानकारी दिनुभयो ।

अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७३–७४ मा सार्वजनिक ऋण ६ खर्ब ९८ अर्ब रहेकोमा अहिले २ सय ५० प्रतिशतले बढेको जानकारी पनि दिनुभयो । देशको ऋण अहिले १७ खर्ब २९ अर्ब रुपैयाँ अर्थात् कूल गार्हस्थ उत्पादनको ४० दशमलव ५ प्रतिशत पुगेको छ ।

अर्थमन्त्री शर्माले स्रोतसँग मेल नखानेगरी प्रचारात्मक ढंगले बजेटको आधार वृद्धि हुँदै आएको पनि बताउन भयो । बजेट परिचालनमा अनुशासन नहुँदा योजना र वित्तीय उत्तरदायित्वमा विचलन आएको श्वेतपत्रमा उल्लेख छ ।

चालुखर्चको तुलनामा पूँजीगत खर्च बढ्न नसकेकाले आर्थिक वृद्धिमा असर परेको, कोषको अवस्थामा ध्यान नदिई बजेट निर्माण गर्ने गरिएका कारण विश्वसनियतामा प्रश्न उठ्ने गरेको, बजेट योजना, वित्तीय उत्तरदायित्व र स्रोतको परिचालनमा विचलन आएको पनि स्वेतपत्रमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *