Main News

सांसदद्वारा भ्रष्टाचार, हिंसा, महामारी र विपद्का घटना रोक्न माग

हिमालय टिभी
२०७८ साउन २६ गते १४:०५
सांसदद्वारा भ्रष्टाचार, हिंसा, महामारी र विपद्का घटना रोक्न माग

२६ साउन २०७८ काठमाडौं । सांसदहरुले मुलुकमा देखिएको भ्रष्टाचार, अनियमितता, कोभिड–१९ को महामारी, मनसुनजन्य विपद्जस्ता घटना न्यूनीकरणमा गम्भीरतापूर्वक लाग्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

राष्ट्रियसभाको आजको विशेष समयमा बोल्दै उहाँहरुले बाढीपहिरोबाट प्रभावितको पुनःस्थापनका साथै उनीहरुलाई उचित क्षतिपूर्ति दिन पनि माग गर्नुभएको छ ।

बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद तारादेवी भट्टले देशभर बाढीपहिरोबाट अत्यधिक क्षति पुगेकाले पीडितलाई उचित क्षतिपूर्तिका लागि सरकारसँग माग गर्नुभयो । उहाँले क्षति कम बेहोर्न दीर्घकालीन योजनाको खाँचो रहेको औँल्याउँदै भारतसँग देखिएको समस्या कूटनीतिक रुपमा समाधान गर्न पनि आग्रह गर्नुभयो ।

सोही पार्टीका सांसद रमेशजङ्ग रायमाझीले मुलुकको विकासका लागि र सरकारले बाटो नविराओस् भनेर गठबन्धन दलबाट साझा कार्यक्रम सार्वजनिक गरिसकेको बताउनुभयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई कम्तीमा काम गर्न दिन पनि आग्रह गर्दै उहाँले सरकारले आगामी दिनमा जनताको पक्षमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीलाई उन्मूलन नगर्दासम्म मुलुकले सोचे अनुसारको विकास गर्न नसकिने बताउनुभयो । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो ।

कतिपय जिल्लामा विद्युत्लगायत विकास निर्माण कार्य अधुरै रहेकाले प्रक्रिया अघि बढाएर अधुरा योजना सम्पन्न गर्न सरकारसँग उहाँले अनुरोध गर्नुभयो । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का खिमलाल भट्टराईले एक महिना पुग्दा पनि सरकारले पूर्णता नपाउनु दुःखद भएको उल्लेख गर्नुभयो । सत्ताधारी दलको आलोचना गर्दै उहाँले राजनीतिक दल बलियो भए मात्रै लोकतन्त्र बलियो हुने भनाइ राख्नुभयो ।

सोही पार्टीका सांसद बिमला घिमिरेले दार्चुला घटनाका पीडितलाई उचित क्षतिपूर्ति दिलाउन सरकारसँग माग गर्नुभयो । कोरोनाविरुद्धको खोप लगाउने कार्य अव्यवस्थित भएकाले कोरोना सङ्क्रमण झन बढ्ने स्थितितर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । कक्षा १२ को परीक्षा स्थगित गर्दा विद्यार्थी मारमा परेकोमा उहाँले चिन्ता प्रकट गर्नुभयो ।

सोही पार्टीका अगमप्रसाद वान्तवा राईले इलामको चिया बगानका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । बगानले कर नतिरेको भन्ने गुनासोको वास्तविकता सार्वजनिक गर्न पनि सरकारसँग उहाँले माग गर्नुभयो । उहाँले चिया बगानलाई पर्यटन विकासमा भरपुर उपयोग गर्नु पनि आग्रह गर्नुभयो ।

एमालेकै तुलसाकुमारी दाहालले सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेर भूमिहीनको समस्या बल्झाएको बताउँदै भारतीय सीमा क्षेत्रमा रहेका सीमान्तकृत र दलित परिवारको उचित व्यवस्थापनका लागि सरकारसँग माग गर्नुभयो । त्यहाँका परिवारलाई भारतीय सीमा सुरक्षाकर्मीबाट ज्यादती हुने गरेकातर्फ उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । दाहालले समानतामा आधारित सिद्धान्त लागू गर्न पनि आग्रह गर्नुभयो ।

एमालेकै उदया शर्मा पौडेलले महिला तथा बालबालिकामाथि कार्यक्षेत्रमा हुने हिंसा र दुव्र्यवहार रोक्न र उनीहरुलाई सुरक्षा प्रदान गर्न सरकारसँग अनुरोध गर्नुभयो । हिंसा र दुव्र्यवहारका घटना बढ्दो क्रममा रहेकाले तत्काल हिंसा र दुव्र्यवहारसम्बन्धी महासन्धी अनुमोदन गर्न पनि उहाँले माग गर्नुभयो । उहाँले छाडा र अपमानजनक शब्द प्रयोग गरेर गीत बनाउने क्रम देखिएकाले यसतर्फ कलाकारलाई सचेत गर्न पनि माग गर्नुभयो ।

अर्का सांसद ठगेन्द्रप्रकाश पूरीले कोभिड– १९ सबैको साझा समस्या रहेकाले सबैले कर्तव्यका साथ सामना गर्न अनुरोध गर्नुभयो । उहाँले खोप अभियान बिना भेद्भाव र सरल रुपमा वितरण गर्नुपर्ने बताउनुभयो । उहाँले ४७ हजारले कोरोना बीमा रकम प्राप्त गरेपनि एक लाख ९६ हजार बढीले बीमा रकम प्राप्त गर्न नसकेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *