Main News

दोस्रो डोज अस्ट्राजेनिकाको खोप पाएपछि जेष्ठ नागरिक दङ्ग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २५ गते २०:४७
दोस्रो डोज अस्ट्राजेनिकाको खोप पाएपछि जेष्ठ नागरिक दङ्ग (भिडियो रिपोर्टसहित)

२५ साउन २०७८ काठमाडौं । कोभिशिल्ड खोप लगाएका नागरिकलाई सरकारले आजदेखि दोश्रो डोज लगाउन थालेको छ । भारतले खरिद गरेको खोपसमेत नदिएपछि पहिले कोभिसिल्ड लगाएकालाई दोस्रो मात्रामा अस्ट्राजेनेका दिन थालिएको छ ।

पाँच महिना अगाडी कोभिसिल्ड लगाएका करिब १४ लाख नागरिकले अब दोस्रो मात्रा पाउनेछन् । काठमाडौंमा खोप केन्द्र पनि पहिले भन्दा व्यवस्थित देखिएका छन् ।

भारतले ६ महिनाअघि नेपाललाई १० लाख डोज कोभिशिल्ड खोप अनुदानमा दियो । त्यसपछि सरकारले भारतसितै २० लाख खोप किन्न पैसा बुझायो । जसमध्येको १० लाख डोज खोप नेपाल आयो ।

त्यो २० लाख डोज कोभिशिल्ड कोरोना महामारी नियन्त्रणमा अग्रपंक्तिमा खटिएकाहरु र जेष्ठ नागरिकलाई दिइयो । अग्रपंतिमा खटिएकाले दोस्रो मात्रा पनि पाए । तर भारतले बाँकी १० लाख डोज खोप नदिएपछि जेष्ठ नागरिकले भने दोस्रो मात्रा पाउन सकेनन् ।

आशा नै मारिसकेका गौतमले ५ महिनापछि बल्ल दोस्रो डोज खोप पाउनु भयो । त्यसैले उहाँ अहिले निकै खुसी हुनुहुन्छ ।

कोभिसिल्ड र अष्ट्रजेनिकाका खोप एउटै फर्मुलाका आधारमा तयार भएकाले विकल्पमा प्रयोग गर्न लागिएको हो । भारतले नदिए पनि जापानले १६ लाख डोज र भुटानले २ लाख ३० हजार अष्ट्राजेनिका खोप दिएपछि जेष्ठ नागरिकले ढिलै भए पनि दोस्रो डोज लगाउन पाएका छन् । महिनौंको प्रतिक्षा पछि खोप लगाउन पाउँदा जेष्ठ नागरिकमा खुसीको सिमा छैन ।

सरकारले खोप लगाउन काठमाडौं उपत्यका भित्र १ सय ४४ वटा खोप केन्द्र तोकेको छ । यसअघि खोप केन्द्र भद्रगोल भए पनि यो पटक केही व्यवस्थित देखिएको छ । त्यसैले खोप लगाउन गएकाहरु सन्तुष्ट देखिएका छन् ।

अहिले आएको अस्ट्राजेनिकाको १८ लाख ३० हजार खोप मध्ये बाँकी विदेश जाने व्यक्ति, डाइलाइसिस गर्नुपर्ने र गरिरहेका बिरामी, अंग प्रत्यारोपण गरिएका व्यक्ति र क्यान्सरका बिरामीलाई दिने सरकारको योजना छ ।

यसअघि ५ महिनासम्म दोश्रो मात्राको खोप दिन नसकेर आलोचना व्यहोरेको सरकारले अब भने दोश्रो मात्रा पनि सुनिश्चत गरेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *