नेपाल–खनाल समूहलाई बेवास्ता गर्दै अघि बढ्यो एमाले संस्थापन पक्ष (भिडियो रिपोर्टसहित)
२५ साउन २०७८ काठमाडौं । नेपाल–खनाल समूहका माग र अडान अस्वीकार गर्दै नेकपा एमालेको संस्थापन पक्ष आफ्नो योजनामा अघि बढेको छ ।
नेपाल–खनाल समूहको बहिस्कारकाबीच बसेको स्थायी समिति र केन्द्रीय कमिटी बैठकले पार्टीको संगठनात्मक ढाँचामा समेत परिवर्तन हुने गरी निर्णय गरेको छ ।
ओली पक्षको पछिल्लो निर्णयले नेपाल–खनाल समूहलाई अब नपर्खने प्रष्ट पारेको छ । एमालेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष शक्तिशाली हुने गरी विधान संशोधनको प्रस्ताव पारित गरेको छ ।
अध्यक्ष र महासचिव महाधिवेशनबाट र अरु सबै पदाधिकारी केन्द्रीय कमिटीले चुन्नेछ । केन्द्रीय कमिटीमा २ सय २५ जना रहने प्रस्ताव गरिएको छ।
पदाधिकारीको संख्यामा पनि हेरफेर गरिएको छ। अब एक अध्यक्ष, दुई जना उपाध्यक्ष, एक जना महासचिव, दुई उपमहासचिव र सात जना सचिव रहने छन्। पार्टीको संगठनात्मक संरचना पनि फेरबदलको प्रस्ताव गरिएको छ ।
अब स्थायी समिति हुनेछैन भने केन्द्रीय कमिटीमा वैकल्पिक सदस्य पनि नरहने प्रस्ताव गरिएको छ । सचिवालयका रुपमा नयाँ संरचना बन्नेछ ।
अध्यक्षलाई शक्तिशाली बनाउने गरी विधान संशोधनको प्रस्ताव गरिएको छ । अध्यक्ष पार्टीको समग्र नेतृत्व भएकोले कमजोर हुन नहुने बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो ।
नेपाल खनाल समूहले बैठक, विधान अधिवेशन र सदस्यता नवीकरण रोक्न माग गरेपनि नेकपा संस्थापन पक्षले त्यसलाई अस्वीकार गर्दै विधान संशोधन प्रस्ताव पारित गरेको हो ।
नेपाल–खनाल समूहलाई अब नपर्खने र एकलौटी ढंगले अगाढि बढेको हो भन्ने पत्रकारको प्रश्नमा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले अब पर्खेर पार्टीलाई समस्यामा पार्न नचाहेको बताउनुभयो । वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिँदा पनि नमानेको ज्ञवालीले बताउनुभयो ।
केन्द्रीय कमिटी तथा केन्द्रीय निकायमको निर्वाचनमा समावेशीता र समानुपातिक तथा प्रादेशिक सन्तुलन कायम गर्ने व्यवस्था गरिएको छ। यो प्रस्ताव अब भदौ २७ र २८ गते हुने विधान महाधिवेशनमा पेश गरिनेछ । त्यसका लागि प्रतिवेदन पेस गर्न मस्यौदा समिति गठन गरिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा राजनीतिक प्रतिवेदन मस्यौदा समिति, महासचिव ईश्वर पोखरेलको नेतृत्वमा संगठनात्मक प्रतिवेदन मस्यौदा समिति महासचिव विष्णु पौडेलको नेतृत्वमा विधान संशोधन मस्यौदा समिति र रामबहादुर थापाको नेतृत्वमा व्यवस्थापन समिति गठन गरिएको छ ।
प्रतिक्रिया