Main News

जापानबाट एस्ट्राजेनेकाको पाँच लाख मात्रा खोप नेपाल आइपुग्यो

हिमालय टिभी
२०७८ साउन २३ गते १४:४८
जापानबाट एस्ट्राजेनेकाको पाँच लाख मात्रा खोप नेपाल आइपुग्यो

२३ साउन २०७८ काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा दिएको अष्ट्राजेनिकाको खोप मध्ये पाँच लाख १३ हजार डोज खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत पहिलो जापानले १६ लाख डोज खोप दिँदैछ । त्यसमध्ये आज पाँच लाख १३ हजार आएको छ भने भोली २ लाख ८७ हजार डोज आउँदैछ । बाँकी ८ लाख डोज खोप पनि छिट्टै नेपाल आउने नेपालस्थित जापानी दुतावासले जनाएको छ ।

आज आएको खोप जापानी दुतावासले स्वास्थ्य मन्त्रालयलाइ हस्तान्तरण गरेको छ । हिजो भुटानबाट पनि दुई लाख ३० हजार डोज अस्ट्राजेनिकाको खोप नेपाल आइसकेको छ ।

जापान र भुटानबाट आएको खोप कोभिशिल्डको दोस्रो मात्रा नपाएका नागरिकलाई लगाइने भएको छ। पर्सी २५ गतेदेखि जेष्ठ नागरिकलाई प्राथमिकता दिएर यो खोप लगाइने मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

यसअघि भारतले खरिद गरेको खोप समेत नदिएपछि कोभिशिल्डको पहिलो मात्रा लगाएका करिब १४ लाख नागरिकले दोस्रो मात्रा पाएका छैनन् । जापान र भुटानबाट आएको अष्ट्राजेनिका खोप तिनै नागरिकलाई दिन लागिएको हो । पहिलो चरणमा बागमति, गण्डकी, लुम्बिनी र सूदुरपश्चिममा यो खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म खरिद र अनुदान गरेर करिब एक करोड मात्रा खोप नेपाल आइपुगेको छ । नेपालले ६० लाख खोप खरिद गरेको छ। चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिशिल्ड खोप खरिद गरिएको छ। भारतबाट खरिद गरिएकोमध्ये १० लाख खोप आउन बाँकी छ ।

यसैगरी भारतबाट नेपाली सेनालाई एक लाखसहित अनुदानमा ११ लाख कोभिशिल्ड खोप प्राप्त भएको छ। चीनबाट पटक पटक गरेर २८ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ।

यस्तै गाभीबाट तीन लाख ४८ हजार कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार जोन्सन एण्ड जोन्सन खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ। सरकारले आगामी असोज मसान्तभित्र एकतिहाई नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ।

यस्तै आगामी चैत मसान्तभित्र खोप लगाउने उमेर समूहका सबै नागरिकलाई पूर्ण खोप लगाउने सरकारको लक्ष्य छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *