दशबुँदे सहमतिमा टेकेर पार्टी एकताका लागि जोड गर्ने एमाले नेपाल–खनाल समूहको निर्णय (भिडियो रिपोर्टसहित)
२२ साउन २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहले कार्यदलको १० बुँदे प्रस्तावमा टेकेर पार्टी एकताको प्रयास गर्ने निर्णय गरेको छ ।
काठमाडौंको बुद्धनगरमा बसेको नेपाल खनाल समूहको केन्द्रीय कमिटी बैठकले शीर्षस्थ नेतालाई आरोप प्रत्यारोप बन्द गर्न पनि भनेको छ ।
सहभागी सबै केन्द्रीय सदस्यले बोल्ने क्रम सकिएपछि बैठकले एकताकै लागि जोड गर्ने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले एकताका लागि वार्ता भइरहेका बेला अनावश्यक टिकाटिप्पणी नगर्न सबैलाई आग्रह गरेको छ । बैठकको समापनमा सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताउनुभएको थियो ।
बैठकले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको निर्णयलाई स्वागत गरेको छ । यस्तै नेपाल खनाल समूहले सदस्यता नवीकरण, अधिवेशन–सम्मेलन गर्ने जस्ता एकपक्षीय गतिविधि रोक्न संस्थापन पक्षलाई आग्रह गरेको छ ।
बैठकमा बोल्ने अधिकांश सदस्यले सम्मानजक रुपमा एकता हुनुपर्ने बताएका थिए । कतिपय सदस्यले भने एकता अघि अध्यक्ष केपी शर्मा ओलीले विगतमा गरेका गल्तीका लागि माफि माग्नुपर्ने बताएका थिए ।
हिजोदेखि शुरु भएको बैठकमा केन्द्रीय सदस्यलाई बोल्नका लागि ३(३ मिनेटको समय निर्धारण गरिएको थियो । धेरै सदस्यको जोड पार्टी एकताकै पक्षमा देखिएको छ ।
उनीहरुले अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल विश्वास गर्न नसकिने भन्दै त्यसप्रति नेतृत्व सचेत बन्नुपर्ने सुझाव पनि दिएका छन् ।
प्रतिक्रिया