Main News

सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले बुझायो यस्तो प्रतिवेदन

हिमालय टिभी
२०७८ साउन २२ गते १३:५०
सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले बुझायो यस्तो प्रतिवेदन

२२ साउन २०७८ काठमाडौं । सत्तारूढ गठबन्धनले बनाएको कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रम र मन्त्रीहरुले पालना गर्नुपर्ने आचारसंहिताको प्रतिवेदन तयार गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।

कार्यदलले करिब दुई हप्तासम्म छलफल गरेर तयार पारेको १८ पृष्ठ लामो प्रतिवेदन प्रधानमन्त्री र सत्तारुढ दलका शीर्ष नेताहरूलाई बुझाइएको हो। बिहान बालुवाटारमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कार्यदलले तयार पारेको प्रतिवेदन बुझाइएको हो।

यस्तै कार्यदलले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा मन्त्रीले पालना गर्नुपर्ने आचारसंहिता पनि बनाएको छ। १४ बुँदे आचारसंहिता र सरकार सञ्चालन गर्न १० बुँदे कार्यविधि बनाइएको हो।

पदमा बहाली हुँदा र पदमुक्त हुँदा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, प्रधानमन्त्रीको निर्देशन पालना गर्ने तथा प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने, पद र अख्तियारीको दुरूपयोग गर्ने वा कुनै पनि अनुचित र गैरकानुनी सुविधा उपलब्ध गर्न गराउन नपाउने, अनियमितता तथा भ्रष्टाचारजन्य काम गर्न नपाउने आचारसंहितामा उल्लेख छ ।

त्यस्तै पदीय मर्यादा, प्रतिष्ठा र जिम्मेवारीमा आँच पुग्ने गरी कसैसँग सम्बन्ध राख्न नपाइने, मनोनयन र नियुक्ति निश्पक्ष, स्वतन्त्र तथा समावेशी ढङ्गले गर्नुपर्ने तथा आचारसंहिता विपरीतको काम गरेको पाइएमा सम्बन्धित दलसँग परामर्श गरी प्रधानमन्त्रीले पदमुक्त गर्ने उल्लेख गरिएको छ ।

कोभिड–१९ को महामारीबाट उत्पन्न मानवीय सङ्कटको समाधान गर्ने, राजनीतिक दलहरूबीच सहमतीमा संविधान संशोधनका लागि पहल गर्न, उत्पादनमुखी अर्थतन्त्रमा जोड, आपुर्ति व्यवस्थामा सुधार, महङ्गी नियन्त्रण र भ्रष्टाचारको छानबीन र कारबाहीका लागि अग्रसरता लिने, बाढी, पहिरो तथा डुवानमा परेका नागरिकको उद्धार, राहत तथा पुननिर्माणमा जोड दिने गरी सरकारका प्रातमिकता निर्धारण गरिएको छ ।

गठबन्धनमा आबद्ध पार्टीका नेता, अर्थविद्, कानुनविदलगायतको सुझाव समेटेर प्रतिवेदन तयार पारिएको कार्यदलका संयोजक पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *