राजनीति

तीन सातासम्म पनि मन्त्रिपरिषदले पूर्णता पाएन, प्रधानमन्त्रीको आलोचना बढ्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २० गते २०:४५
तीन सातासम्म पनि मन्त्रिपरिषदले पूर्णता पाएन, प्रधानमन्त्रीको आलोचना बढ्दै (भिडियो रिपोर्टसहित)

२० साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सक्नुभएको छैन । गठबन्धन दलबीच मन्त्रालय बाँडफाँड समेत हुन नसकेकाले मन्त्रिपरिषद विस्तार कहिले हुन्छ भन्ने अझै टुङ्गो छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको तीन साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । र अझै कति समयमा मन्त्रिपरिषद विस्तार हुन्छ भन्ने पनि टुङ्गो छैन ।

प्रधानमन्त्रीको सपथ लिएलगत्तै देउवाले कांग्रेसका दुई र मा‌‌ओवादी केन्द्रका दुई मन्त्री बनाउनुभयो । पछि एकजना राज्यमन्त्री थपिएको छ । तर अन्य मन्त्री नियुक्त हुन नसक्दा अधिकांश मन्त्रालय अहिले कर्मचारीले चलाइरहेका छन् । मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ गरेकोमा प्रधानमन्त्री देउवाको आलोचना बढ्दै गएको छ ।

कोरोना संक्रमण बढिरहँदा स्वास्थ्य मन्त्रालयमा पनि मन्त्री नियुक्त हुन सकेको छेन । एकजना व्यवसायीलाई राज्यमन्त्री बनाइए पनि नियुक्तिलाई लिएरै विवाद उठेको छ । मन्त्रिपरिषद विस्तार हुन नसक्नुमा सत्ता साझेदार दलले सुरुवातमा जनता समाजवादी पार्टीको विवाद देखाउने गरेका थिए । तर अहिले त्यो विवाद साम्य भइसकेको छ । पछिल्लो पटक एमालेको नेपाल खनाल समूहलाई पर्खनुपरेकाले ढिलो भएको उनीहरुको तर्क छ ।

नेपाल–खनाल समूहले तत्काल सरकारमा नजाने बताइसकेको छ । तर पनि सत्ता साझेदार दलले आफ्ना कमजोरी लुकाउन यही समूहलाई कारण देखाइरहेका छन् । अहिलेसम्म मन्त्रालय बाँडफाँड नै टुङ्गो लाग्न सकेको छैन । मन्त्रालय बाँडफाँडपछि दलहरुभित्रबाट मन्त्री छान्न अर्को सकस छ ।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा मन्त्री बन्न चाहनेको लामो ताँती छ । तीनवटै दलले अहिलेसम्म मन्त्री बन्नेको सूची तयार पार्न सकेका छैनन् । पछिल्लो पटक मन्त्रिपरिषद विस्तार अघि न्युनतम साझा कार्यक्रम बनाउने भन्दै तीन दल छलफलमा छन् ।

साझा कार्यक्रम बनेपछि मन्त्रालय बाँडफाँड र त्यसपछि दलहरुभित्रको माथापच्ची बाँकी नै छ । केहीदिन अघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका सबै सांसदले मन्त्री बन्नका लागि दबाब दिइरहेकाले तनाव भइरहेको बताउनुभएको थियो । तर माओवादी नेताहरु भने गठबन्धन सरकार भएकाले ढिला भएको दाबी गर्दै आफ्नो पार्टीमा भने कुनै समस्या नभएको बताउँछन् ।

अहिले मुलुक संकटपुर्ण अवस्थाबाट गुज्रिरहेको छ । कोरोना महामारीले अर्थतन्त्र नाजुक अवस्थामा छ । सबै मन्त्रालयमा नेतृत्वको खाँचो छ । तर अघिल्लो सरकारले काम गर्न नसकेको भन्दै चर्को आलोचना गर्ने नेताहरु अहिले मन्त्रिपरिषद समेत गठन गर्न नसक्ने अवस्थामा देखिएका छन् । यसले नयाँ सरकार बनेपछि केही सुधार होला कि भन्ने आशा गरिरहेका आम नागरिक भने निरास बन्दै गएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्