लुम्बिनी प्रदेशसभा सदस्य वली पुनः माओवादी केन्द्रमै फर्किइन्
२० साउन २०७८ रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ ।
एक हप्तादेखि पार्टीसँग सम्पर्कविहीन वली आज बिहान प्रदेशसभा सचिवालयमा रहेको दलको कार्यालयमा उपस्थित भएको माओवादीले जनाएको छ ।
विमलाले आफूलाई मुख्यमन्त्री कार्यालयमै राखिएको नेताहरुसँग बताएको माओवादीले बताएको छ । विमलाले आजै पत्रकार सम्मेलन गरेर आफ्ना कुरा सार्वजनिक गर्ने तयारी गर्नुभएको छ ।
दुई दिनअघि मात्रै विमलाको हस्ताक्षरमा आफू एमालेमा रहेको व्यहोराको प्रेस विज्ञप्ति सार्वजनिक भएको थियो । तर माओवादी केन्द्रले मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा उहाँलाई ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको आरोप लगाएको थियो ।
विपक्षी गठबन्धनले मुख्यमन्त्री विरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरिसकेको छ भने प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन बोलाउन निवेदन दिएको छ । अब विपक्षी गठबन्धनमा स्पष्ट बहुमत पुगेको छ ।
प्रतिक्रिया