Main News

बीपी प्रतिष्ठानमा सरकार र आन्दोलनरत कर्मचारीबीच भयो यस्तो सहमति

हिमालय टिभी
२०७८ साउन २० गते १४:५१
बीपी प्रतिष्ठानमा सरकार र आन्दोलनरत कर्मचारीबीच भयो यस्तो सहमति

२० साउन २०७८ काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत कर्मचारी र सरकार पक्षबीच ६ बुँदे सहमति भएको छ । सहमतिसँगै आन्दोलन स्थगित भएको छ ।

प्रतिष्ठानमै पुगेर सरकारी वार्ता टोलीले आज बीपी शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिका प्रतिनिधिसँग सहमति गरेको हो ।

सरकारलाई हिजो बुझाइएको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक महाशाखा तोक्ने, प्रतिष्ठान ऐन को दफा ११ (घ)मा व्यवस्था भए अनुरुप चारैजना पदाधिकारीलाई पदबाट हटाउने प्रक्रिया आजैबाट शुरु गर्ने, अब उप्रान्त प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि मापदण्डसहितको कार्यविधि तर्जुमा गर्नेलगायतका सहमति भएको छ ।

प्रतिष्ठानसँग सम्बन्धित अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत निकायमा विचाराधीन उजुरी तथा मुद्दाको कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा पनि सहमति भएको छ । प्रतिष्ठानम अनियमितता भएको भन्दै चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीले लामो समयदेखि आन्दोलन गरेका थिए ।

अघिल्लो सरकारले समस्या समाधानमा चासो नदिएपछि अस्पतालमा उपचारमा पनि समस्या भएको थियो । हिजो सार्वजनिक भएको छानविन समितिको प्रतिवेदनमा उपकरण खरिद गर्दा ठुलो अनियमितता भएको उल्लेख छ ।

सहमतिपत्रमा सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलसहित सदस्यहरु मानबहादुर बस्नेत र देवराज भण्डारीले हस्ताक्षर गर्नुभएको छ । संघर्ष समितिका तर्फबाट संयोजक डा। एसपी रिमाल, सहसंयोजक डा। विष्णु पोखरेल र १२ जनाले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *