न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्तापक्षीय कार्यदलको बैठक आज पनि बस्दै
२० साउन २०७८ काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने प्रयासमा जुटेको सत्ता पक्षीय कार्यदलको बैठक आज पनि बस्दैछ ।
आज बिहान बालुवाटारमा बस्ने बैठकले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने तयारी छ । हिजो बिहान र बेलुकी दुई पटकसम्म कार्यदलको बैठक बसे पनि अन्तिम टुंगो लगाउन भने सकेको थिएन ।
कांग्रेस, माओवादी र जसपाका नेताहरु सम्मिलित कार्यदलले मन्त्रिपरिषदलाई पूर्णता, मन्त्री छनोट गर्ने मापदण्ड बनाउने छ ।
यस्तै संवैधानिक तथा राजनीतिक नियुक्ति सम्बन्धी कार्यविधिलगायतका विषयलाई समेटेर न्यूनतम साझा कार्यक्रमको खाका तयार पारेको छ ।
कार्यदलले अन्तिम प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी नेताहरुको छ । सत्ता गठबन्धनका नेताहरुले सरकारलाई सघाउने उद्देश्यले नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन गरेका छन् ।
कार्यदलमा कांग्रेसको तर्फबाट खड्कासँगै मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय लगायतका नेताहरु छन् ।
प्रतिक्रिया