Main News

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १९ गते २०:२२
लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता (भिडियो रिपोर्टसहित)

१९ साउन २०७८ रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। विपक्षी गठबन्धनका सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध आज प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । गठबन्धनले प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन माग गर्दै समावेदन पनि गरेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएको छ । मंगलबार दिउँसो प्रदेश सभा सचिवालयमा ३४ सांसदको हस्ताक्षरसहित प्रस्ताव दर्ता भएको छ ।

प्रस्तावमा संविधानको धारा १ सय ६८ को १ अनुसार एकल बहुमतको आधारमा बनेको सरकार अल्पमतमा रहेको भन्दै उपधारा २ अनुसार अर्कोसरकार बनाउनुपर्ने उल्लेख छ ।

नेकपा विभाजनपछि सबैभन्दा पहिले वैशाख ६ मा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । त्यसमा छलफल गर्न तत्कालिन प्रदेश प्रमुख धर्मनाथ यादवले वैशाख १९ मा प्रदेश सभा बैठक बोलाउनु भएको थियो । यद्यपि वैशाख १९ मा मुख्यमन्त्रीले पदबाट राजीनामा दिँदै अविधेशन बस्दै नबसी अन्त्य गराउनु भएको थियो ।

वैशाख २६ मा विपक्षी गठबन्धनले दोस्रो पटक अविश्वासको प्रस्ताव र प्रदेश सभा बैठकका लागि समावेदन गरेका थिए । त्यसबेला प्रदेश प्रमुख यादवले औचित्य नरहेको भन्दै प्रस्ताव खारेज गरिदिनुभयो । तेस्रो पटक विपक्षी गठबन्धनले फेरि नयाँ सरकार बनाउन प्रयास गरेका छन् ।

अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीका रुपमा माओवादीका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । विपक्षी गठबन्धनले मंगलबार नै प्रदेश प्रमुखसँग प्रदेश सभाको विशेष अधिवेशन मागसहित समावेदन दर्ता गरेको छ ।

अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेललाई पटक(पटक राजीनामा दिन माग गरे पनि नमानेपछि पुन अबिस्वास प्रस्ताव दर्ता गरिएको बिपक्षी गठबन्धनले जनाएको छ । लुम्बिनी प्रदेश सभामा अहिले ८० सदस्य छन् ।

जसमा सत्तापक्ष एमालेका ३८ सदस्य छन् । विमला वली खत्रीले पनि एमाले रोजेको भनेर विज्ञप्ती निकाल्नु भएको छ । तर उहाँ अझै सार्वजनिक हुनु भएको छैन । वलि नहुँदा कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाका सभामुखसहित ४१ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *