Main News

मेलम्चीमा बाढीको असर : काठमाडौंको प्यास मेटाउने खानेपानी आयोजना नै धरापमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १८ गते २०:४९
मेलम्चीमा बाढीको असर : काठमाडौंको प्यास मेटाउने खानेपानी आयोजना नै धरापमा (भिडियो रिपोर्टसहित)

१८ साउन २०७८ काठमाडौं । लेदोसहितको बाढीले क्षति गरेपछि मेलम्ची खानेपानी आयोजना अनिश्चित बनेको छ ।

आयोजनामा अहिलेसम्म ३२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । मेलम्चीको पानी सुरङमार्फत काठमाडौं ल्याएर केही दिन परीक्षणका रुपमा वितरण गरे पनि बाढीले मुहानमा ठुलो क्षति गरेपछि आयोजना नै धरापमा परेको छ ।

काठमाडौंमा परीक्षणका लागि पानी ल्याइए पनि वैशाख अन्तिममा मेलम्ची आयोजनाको सुरुङ बन्द गरिएको थियो । त्यसको एक हप्ता पनि नपुग्दै असार १ गते मेलम्ची खोलामा लेदेसहितको भिषण बाढी आयो । सुरुङ बन्द भएकाले ठूलो क्षति टरेको भन्दै मेलम्ची खानेपानी आयोजनाले विज्ञप्ति नै निकालेको थियो । तर अहिले परिस्थिति अर्कै रहेको देखिएको छ ।

असार एक गतेयता आएका पटकपटकका बाढीले मेलम्चीको मुहान क्षेत्र ध्वस्त भएको छ । आयोजनाको सुरुङ आसपासको क्षेत्र कतै कटानमा परेको छ त कतै ढुंगा, माटो र बालुवाले पुरिएको छ । त्यसैले यो आयोजना अब अनिश्चित बनेको छ । खानेपानी मन्त्रालयले आयोजना पहिलेकै अवस्थामा फर्काउन सहयोगको अपेक्षा गरेको छ ।

असार एक गते बाढी आउँदा बन्द भएकाले सुरुङ बचेको छ । लेदोसहितको बाढी अहिले पनि रोकिएको छैन् । आयोजनाको मुहान स्थलमा गएर तत्काल काम गर्ने स्थित छैन । अब आउने बाढीले थप क्षति गर्ने संभावना पनि छ ।

त्यसैले यो आयोजनाको भविष्यलाई लिएर थप आशंका उब्जिएको छ । संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदले आयोजनास्थलमा भौगर्भिक अध्ययन गर्न सुझाव दिएका छन् ।

माथिल्लो तटीय क्षेत्रको भौगर्भिक अवस्थाबारे अध्ययन गर्न एसियाली विकास बैंक एडिबीलाई पत्राचार गरेको सरकारी अधिकारीले जनाएका छन् ।

बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा करीब १ अर्ब ८८ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । मुहान क्षेत्र नै पुरिँदा अब सानोतिनो प्रयासले सुरुङमा पानी पठाउन संभव छैन ।

वर्षायामभरि आयोजनाको मुहान क्षेत्रमा जानै नसक्ने अवस्था छ । मेलम्चीमा अझै लामो समयसम्म बाढीको जोखिम रहेकाले मेलम्ची आयोजना नै कोल्याप्स हुने हो कि भन्ने चिन्ता पनि बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *