Main News

कर्णालीका चार प्रदेशसभा सदस्य निष्काशनको निर्णय सर्वोच्चद्वारा सदर

हिमालय टिभी
२०७८ साउन १८ गते १८:४२
कर्णालीका चार प्रदेशसभा सदस्य निष्काशनको निर्णय सर्वोच्चद्वारा सदर

१८ साउन २०७८ काठमाडौं । ह्विप उल्लंघन गरेको आरोपमा नेकपा एमालेले कर्णालीका चार सांसदलाई गरेको कारबाही सर्वोच्च अदालतले सदर गरेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई एमालेको दशौं महाधिवेशन आयोजक समितिले गरेको कारबाहीलाई सर्वोच्चले आज सदर गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कारवाही कानुन अनुसार नै भएको ठहर गरेको छ ।

यसअघि जेठ २७ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले एमालेको दशौं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय समिति मान्न नसकिने भन्दै कारबाही मान्य नहुने भन्दै चार सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो ।

त्यसविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको पुनरावलोकन निवेदन दिनुभएको थियो । त्यसमाथि सुनुवाइ गर्दै दुई न्यायाधीशको इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै खारेज गरेको हो ।

सर्वोच्चले दलको ह्विप उल्लंघन गरी अर्को दलको उम्मेदवारलाई विश्वासको मत दिने कामलाई लोकतान्त्रिक पद्धति एवं संस्कार र मान्यताको अनुकुल नभएको टिप्पणी पनि गरेको छ ।

यो आदेशपछि कर्णालीका चार सांसद पदमुक्त भएका छन् । चार सांसद पदमुक्त भए पनि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार भने झन सुरक्षित भएको छ । प्रदेशसभा अब ३५ सदस्यीय मात्र भएको छ ।

बहुमतका लागि १८ सांसद चाहिन्छ । सत्ताको नेतृत्वकर्ता माओवादी केन्द्रका १२ र साझेदार नेपाली कांग्रेसका ६ सांसद छन् । अब एमालेमा सभामुखसहित १६ सांसद मात्र भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *