कर्णाली प्रदेशका चार सांसदविरुद्ध एमाले अध्यक्ष ओलीद्वारा दायर रिटमा आज सुनुवाइ
१८ साउन २०७८ काठमाडौं । कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका चार सांसदमाथि एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालेको भ्याकेट रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले मान्यता नदिएपछि नेकपा (एमाले)का अध्यक्ष ओलीले अन्तरिम आदेश खारेजीको माग गर्दै रिट निवेदन दिनुभएको थियो ।
निवेदनको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा भइरहेको छ । गत असार ८ गते न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको संयुक्त इजलासले म्याद जारी गरेको थियो। त्यसपछि असार २३ गते न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल केसीको इजलासले पुनः म्याद जारीको आदेश गरेको थियो।
सो निवेदनको सुनुवाइ आज प्रधानन्यायाधीश राणाले आफैँले हेर्दैहुनुहुन्छ । सर्वोच्च अदालतले ती चार सांसदमाथि गरेको कारबाहीलाई मान्यता नदिएपछि एमालेले त्यसविरुद्ध सर्वोच्चमा भ्याकेट निवेदन दिएको थियो।
सर्वोच्चको अन्तरिम आदेशमा केन्द्रीय कमिटीले राजनीतिक दलसम्बन्धी ऐनअनुसार सांसद एवम् पार्टी सदस्यमाथि प्रष्टिकरण सोध्ने र कारबाही गर्ने अधिकार महाधिवेशन आयोजक कमिटीलाई नहुने ठहर गरिएको थियो।
वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले फ्लोर क्रस गरेर मत दिएकै कारण कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगिएको थियो।
प्रतिक्रिया